जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार १५:०४

रविको मुद्दा संशोधन अनुमति दिएका न्यायाधीश बेलबासे उच्च अदालतको पेन्सन पाउने गरी अवकाश


काठमाडौं, असोज ८ । जिल्ला अदालत कास्कीका प्रमुख न्यायाधीश हिमलाल बेलबासे उच्च अदालतको न्यायाधीशमा बढुवा भएर उमेर हदका कारण अवकाशमा जानुभएको छ।

न्याय परिषद्को सिफारिसमा उच्च अदालत जनकपुरको न्यायाधीशमा पदस्थापन हुने गरी सिफारिस हुनुभएका बेलबासे असोज ४ गतेदेखि अवकाशमा जानुभएको हो।

जिल्ला तथा उच्च अदालतका न्यायाधीशले ६३ वर्षको उमेरमा अनिवार्य अवकाश पाउने व्यवस्था छ। अवकाशको मुखमा उच्च अदालतको न्यायाधीशमा बढुवा भएकाले उहाँले अवकाशपछि उच्च अदालतका पूर्वन्यायाधीशसरह निवृत्तिभरण तथा अन्य सेवा सुविधा पाउने जनाइएको छ।

बेलबासेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा दर्ता भएको सूर्यदर्शन सहकारी ठगीसँगै जोडिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग संशोधन गर्न अनुमति दिनुभएको थियो।

उहाँको एकल इजलासले गत जेठ ८ गते अभियोग संशोधनको अनुमति दिएको थियो। कास्कीसहित रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतबाट पनि लामिछानेविरुद्धका मुद्दा संशोधन गर्न अनुमति दिइएको थियो।

न्याय परिषद्को बुलेटिनअनुसार बेलबासे जिल्ला न्यायाधीशको वरीयता सूचीमा १३औँ स्थानमा हुनुहुन्छ। उच्च अदालतमा पाँच न्यायाधीशको पद रिक्त रहेकामा परिषद्ले बेलबासेसहित सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेल र फैसला कार्यान्वयन महानिर्देशनालयका गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।

जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध विभिन्न अदालतमा दर्ता भएका मुद्दा संशोधन गर्ने निर्णय गर्नुभएको थियो।

सरकारी वकिल कार्यालय कास्कीमार्फत दर्ता भएको अभियोग संशोधनलाई बेलबासेको इजलासले सदर गरेको थियो। संशोधनपछि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी अभियोग मात्रै बाँकी रहेको जनाइएको छ।