काठमाडौं, असोज ८। अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ।
प्रशासनले बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधनको आवागमन बन्द गर्ने निर्णय गरेको हो।
जल तथा मौसम विज्ञान विभागले धादिङसहित आसपासका क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखेर आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)द्वारा जारी सूचनामा यात्रु तथा चालकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।
प्रशासनले जोखिमयुक्त स्थानमा नजान तथा सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्नसमेत अनुरोध गरेको छ।












प्रतिक्रिया दिनुहोस्