काठमाडौं, असोज ८। प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले सम्भावित भारी वर्षा, बाढी, पहिरो तथा हावाहुरीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वसावधानी र सतर्कतालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ।
आज बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको तथा जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा र हावाहुरी आउन सक्ने पूर्वानुमान गरेको उल्लेख गर्दै प्रधानमन्त्री साहले पूर्वसावधानी अपनाउन आग्रह गर्नुभएको हो।‘पूर्वसावधानी अपनाउनु र सतर्कताका साथ कार्य गर्नु नै विपद् व्यवस्थापनको मुख्य आधार हो,’ प्रधानमन्त्री साहले भन्नुभएको छ।
सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारका सबै मन्त्रालय तथा मातहतका निकायले पछिल्लो २४ घण्टामा विभिन्न निर्देशन, सार्वजनिक सूचना, नागरिक अपिल तथा प्रेस विज्ञप्ति जारी गरी पूर्वतयारी तीव्र बनाएको प्रधानमन्त्री साहले जानकारी दिनुभएको छ।
उहाँका अनुसार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठक बसी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ। तीनवटै सुरक्षा निकायले नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयवासीलाई सचेत गराउँदै विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको छ।
प्रधानमन्त्री साहले रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दूरीको यात्रा नगर्न तथा सुरक्षित स्थानमा रहन सबैलाई आग्रह गर्नुभएको छ।
राजमार्गका प्रत्येक सुरक्षा जाँच चौकीले अघिल्लो चेकपोइन्टसँग सम्पर्क गरी सडकखण्ड सुरक्षित रहेको सुनिश्चित भएपछि मात्र सवारीसाधन अघि बढाउने ‘रोक, पर्ख र हेर’ (Stop, Hold and Go) नीति लागू गरिएको उहाँले बताउनुभएको छ। जोखिमयुक्त सडकखण्डमा रातिको समयमा सवारी सञ्चालन नगर्नसमेत निर्देशन दिइएको छ।
सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई ध्यानमा राखी एक्स्काभेटर, लोडर, डोजरलगायत भारी उपकरणको पूर्वव्यवस्था गरी जोखिमयुक्त सडकखण्ड नजिक परिचालन गर्ने तयारी गरिएको प्रधानमन्त्री साहले जानकारी दिनुभएको छ। सबै सडक डिभिजन कार्यालयलाई २४ सै घण्टा सक्रिय रहन तथा सडकको अवस्था नियमित रूपमा सार्वजनिक गर्न निर्देशन दिइएको छ।
हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा र पर्वतारोहणमा रहेका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न सम्बन्धित व्यवसायीसँग समन्वय गर्न तथा होटल व्यवसायी र स्थानीयवासीलाई सुरक्षित बासस्थान र आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ। मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको उहाँले बताउनुभएको छ।
प्रधानमन्त्री साहका अनुसार सबै ७५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी आवश्यक पूर्वतयारी गर्न, जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न तथा प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन निर्देशन दिइएको छ।
सार्वजनिक बिदाको अवधिमा समेत राष्ट्रसेवक कर्मचारीलाई आफू सुरक्षित रहँदै सम्भावित विपद् प्रतिकार्यमा तत्पर रहन निर्देशन दिइएको छ।
विद्यालय र स्वास्थ्य संस्थालाई पनि तयारी अवस्थामा रहन निर्देशन
सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकता दिई स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार असोज ९ गते विद्यालयको पठनपाठन सञ्चालन नगर्न निर्देशन दिइएको प्रधानमन्त्री साहले बताउनुभएको छ।
यस अवधिमा तोकिएका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न सम्बन्धित विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई निर्देशन दिइएको छ। अभिभावकलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिनसमेत उहाँले विशेष आग्रह गर्नुभएको छ।
त्यस्तै, सबै अस्पताल तथा स्वास्थ्य चौकीलाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ। स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र (HEOC) लाई समेत सक्रिय अवस्थामा राखिएको प्रधानमन्त्री साहले जानकारी दिनुभएको छ।
अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन निर्देशन
मौसमका कारण राजमार्ग अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सबै गोदाममा आवश्यक मौज्दात कायम गर्न निर्देशन दिइएको छ। राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानी गरिने व्यवस्था मिलाइएको छ।
मौसमको अवस्थालाई देखाएर कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अनुचित मूल्यवृद्धि गर्नेमाथि कडा कारबाही गर्न बजार अनुगमन तीव्र बनाउनसमेत निर्देशन दिइएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा देशभरका नागरिकलाई एसएमएस अलर्ट पठाइएको छ। स्थानीय सञ्चारमाध्यममार्फत मौसमसम्बन्धी नियमित सूचना तथा सावधानीका उपाय निरन्तर प्रसारण गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत निर्देशन दिइएको छ। दूरसञ्चार सेवा अवरुद्ध भए तत्काल सञ्चालनमा ल्याउन आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको प्रधानमन्त्री साहले बताउनुभएको छ।
प्रधानमन्त्री साहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनालाई आधार मानी सचेत रहन सबैमा आग्रह गर्नुभएको छ।
आपत्कालीन अवस्थामा हेलो सरकार ११११ वा ९८५११४५०४५, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र १२३४, स्वास्थ्य हेल्पलाइन १११५, नजिकको जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायमा सम्पर्क गर्न आग्रह गरिएको छ। मौसम पूर्वानुमानसम्बन्धी जानकारीका लागि ११५५ मा डायल गर्न सकिने जनाइएको छ।
प्रधानमन्त्री साहले सबैलाई सावधानी अपनाउँदै सुरक्षित रहन आग्रह गर्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्