काठमाडौँ, असोज ९ । प्रधानमन्त्री बालेन शाहले अति कम विकसित देश (एलडीसी) भएर पनि नेपालले आफ्नो दायित्वभन्दा बढी वातावरणीय योगदान गरिरहेको बताउनुभएको छ।
शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालको वातावरणीय प्रयास विश्वस्तरमै उल्लेखनीय रहेको बताउनुभएको हो।
उहाँले नेपालको आधाजसो भूभाग वनजङ्गलले ढाकिएको उल्लेख गर्दै विदेशबाट आयात हुने प्रदूषणकारी ऊर्जालाई विस्थापित गर्न नेपालले तीव्र गतिमा जलविद्युत् उत्पादन बढाइरहेको जानकारी दिनुभएको छ।
प्रधानमन्त्री शाहले नेपालले विद्युतीय सवारीसाधनको प्रवर्द्धनलाई समेत प्राथमिकता दिएको बताउनुभएको छ। उहाँले विद्युतीय सवारीसाधनको प्रयोग र प्रवर्द्धनमा नेपाल युरोपका कतिपय हिस्सासँग तुलना गर्न सकिने अवस्थामा पुगेको उल्लेख गर्नुभएको छ।
बढ्दो जलवायु विपद्को सामना गर्न स्थानीय तहमा जलवायु अनुकूलनका कार्यक्रमलाई थप बलियो बनाउँदै लैजाने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले विश्व समुदायसमक्ष व्यक्त गर्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्