जनता टाइम्स

९ आश्विन २०८३, शुक्रबार ०७:०७

देशका धेरै ठाउँमा झरी, आइतबारदेखि क्रमिक सुधार हुने सम्भावना


काठमाडौँ, असोज ९ । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा बुधबारदेखि निरन्तर झरी परिरहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको हो।

मौसमविद्का अनुसार आज र भोलि पनि देशका अधिकांश स्थानमा वर्षाको क्रम जारी रहने तथा आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको छ।

निरन्तरको वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थान, कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थान, मधेश प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज गण्डकी र लुम्बिनीमा वर्षा केन्द्रित हुने

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार आज बिहानदेखि गण्डकी प्रदेशको समग्र क्षेत्रमा तथा लुम्बिनी प्रदेशको खासगरी महाभारत क्षेत्रदेखि तल्लो भेगमा वर्षा बढी केन्द्रित हुने सम्भावना रहेको छ। कोशी प्रदेशतिर भने वर्षाको तीव्रता केही कम हुने उहाँको पूर्वानुमान छ।

मौसमविद्हरूले आज र भोलि लामो दूरीको यात्रा नगर्न तथा बाढी र पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गर्नुभएको छ।

गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा इलामको कन्याममा मापन भएको छ। कन्याममा ११४ मिलिमिटर वर्षा भएको छ भने इलामको जितपुरमा ९१ मिलिमिटर वर्षा मापन भएको छ।

त्यस्तै, काभ्रेको रोशीमा ९७.८ मिलिमिटर, पाल्पाको अर्चलेमा ९३.८ मिलिमिटर र सोलुखुम्बुको पाख्रिबासमा ८५.२ मिलिमिटर वर्षा मापन भएको छ।