जनता टाइम्स

९ आश्विन २०८३, शुक्रबार ०७:१०

धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध


काठमाडौँ, असोज ९ । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। गएराति ढुंगासहितको पहिरो खसेपछि राजमार्गमा यातायात अवरुद्ध भएको हो।

वर्षासँगै बाढीपहिरोको जोखिम बढेपछि रातभर पृथ्वी राजमार्ग बन्द गरिएको थियो। आज बिहान ५ बजेदेखि राजमार्गमा यातायात सञ्चालन गर्ने भनिए पनि पहिरो खसेपछि सवारीसाधन चल्न सकेका छैनन्।

पहिरो पन्छाउने काम भइरहेको भए पनि निरन्तर वर्षा भइरहेकाले समस्या भएको धादिङ प्रहरीले जनाएको छ।

गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा सडक भासिएपछि डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन गरिएको थियो। सोही अस्थायी डाइभर्सनमा पहिरो खसेपछि सडक पुनः अवरुद्ध भएको हो।

पहिरोकै कारण कान्ति लोकपथसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ–हेटौँडा आवतजावत प्रभावित भएको छ।

त्यस्तै, कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडकखण्डको भोटखोला क्षेत्रमा समेत पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ।