काठमाडौं, असोज ९ । नेकपा एमालेका सचिव महेश बस्नेतले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र साह बालेनले भोटेकोशी–त्रिशूली बाढी, जलवायु परिवर्तन र हिमालय क्षेत्रमा बढ्दो जोखिमका विषय उठाइनुलाई सकारात्मक पक्षका रूपमा लिनुभएको छ।
उहाँले महासभाजस्तो अन्तर्राष्ट्रिय उच्चस्तरीय मञ्चमा नेपालको महत्वपूर्ण विषय विश्वसमक्ष उठाउनुभएकोमा प्रधानमन्त्रीलाई धन्यवादसमेत दिनुभएको छ।
यद्यपि, अन्तर्राष्ट्रिय मञ्चमा विषय प्रस्तुत गर्दा शब्द चयन र प्रस्तुतीकरणमा थप सूक्ष्मता आवश्यक रहेको उहाँको धारणा छ। विशेषगरी ‘Young nation’ भन्ने अभिव्यक्तिले नेपाललाई नयाँ राष्ट्रका रूपमा बुझ्ने अवस्था नआओस् भन्नेतर्फ सचेत हुनुपर्ने उहाँले बताउनुभएको छ।
नेपालको प्राचीन इतिहास, सभ्यता र पहिचानलाई ध्यानमा राख्दै युवा जनसंख्या भएको देश भन्ने आशय स्पष्ट हुने गरी उपयुक्त शब्दावली प्रयोग गर्न सकिने उहाँको भनाइ छ।
त्यस्तै, बाढी तथा जलवायु न्यायका विषयलाई अझ तथ्यगत र प्रभावशाली ढंगले प्रस्तुत गर्दै जलवायु वित्त, हिमालय संरक्षण तथा जलवायुजन्य क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोगको स्पष्ट माग राख्न सकिनेतर्फ पनि उहाँले ध्यानाकर्षण गराउनुभएको छ।
समग्रमा महासभामा उठाइएका विषयहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै सचिव बस्नेतले आगामी दिनमा यस्ता उच्चस्तरीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको ऐतिहासिक पहिचान, राष्ट्रिय हित र समसामयिक मुद्दालाई अझ परिष्कृत कूटनीतिक भाषा तथा प्रभावकारी प्रस्तुतिमार्फत विश्वसमक्ष राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्