जनता टाइम्स

९ आश्विन २०८३, शुक्रबार १८:५७

राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट अतिथि र विदेशी पाहुनाले गरे इन्द्रजात्रा अवलोकन


काठमाडौं, असोज ९ । राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूले आज सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्रा अवलोकन गर्नुभएको छ।

इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमानढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुग्नुभएको थियो। राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेललाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले स्वागत गर्नुभएको थियो।

इन्द्रजात्रा अवलोकनका लागि उपराष्ट्रपति, सभामुख, कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङलगायत विशिष्ट व्यक्तिहरू पनि हनुमानढोका पुग्नुभएको थियो।

प्रधानमन्त्री वालेन्द्र शाह भने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन हाल अमेरिकाको न्यूयोर्कमा हुनुहुन्छ।

परम्पराअनुसार राष्ट्रपति पौडेलले वसन्तपुरस्थित गद्दी बैठकबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने प्रचलन रहेको छ।

इन्द्रजात्राको रथयात्रा काठमाडौं उपत्यकाको प्राचीन सांस्कृतिक तथा धार्मिक परम्परासँग जोडिएको महत्त्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ।