काठमाडौँ, असोज १० । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक महिना पुगेको छ । गत भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीबाट हालसम्म एक हजार ४५३ जनाको मृत्यु भएको छ भने पाँच हजार ५५० जना बेपत्ता छन् । १३ हजार ७९५ जनाको उद्धार गरिएको छ ।
बाढी प्रभावितको खोज, उद्धार तथा राहतका लागि तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी परिचालित छन् । प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणसँगै क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणको काम पनि जारी छ ।
बाढीबाट चार खर्ब आठ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको आकलन गरिएको छ । द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि सात खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।
बाढीबाट सात हजार ५७० निजी घर, ४८ सार्वजनिक भवन, १८ विद्यालय, सात स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ । यस्तै, ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँच सौर्य ऊर्जा आयोजना प्रभावित भएका छन् ।
६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ भने ३७ मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ वटा बगेका छन् । ६८ झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ । बाढीबाट करिब आठ हजार ३०० घरपरिवार तथा ४० हजार जनसंख्या प्रभावित भएको जनाइएको छ ।
उत्पादनतर्फ एक हजार ८०६ हेक्टर कृषि बालीमा क्षति पुगेको छ भने पशुपालन, पक्षीपालन तथा माछापालन पनि प्रभावित भएका छन् । १७ बैंक शाखा र चार हजार ८०० व्यापारिक प्रतिष्ठानसमेत प्रभावित भएका छन् ।
बाढीपछि नेपाल रेडक्रस सोसाइटीले खोज, उद्धार, राहत तथा मानवीय सहायता निरन्तर गरिरहेको जनाएको छ । रेडक्रसले आवास तथा गैरखाद्य सामग्रीका एक हजार २१८ सेट, ५६३ त्रिपाल, ७०१ म्याट्रेस र एक हजार ३२४ कम्बल वितरण गरेको छ । करिब दुई हजार प्रभावित परिवारलाई खाद्य सामग्री उपलब्ध गराइएको छ ।
एक महिनाको अवधिमा दुई हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्याइएको छ । १८ पानी ट्याङ्की व्यवस्थापन गरी आवश्यक स्थानमा ट्याङ्करमार्फत पानी वितरण गरिएको रेडक्रसले जनाएको छ ।
मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगबाट एक हजार ७१० जना लाभान्वित भएका छन् भने आपत्कालीन स्वास्थ्य क्लिनिकमार्फत एक हजार २३९ जनालाई स्वास्थ्य परीक्षण, औषधि तथा अन्य सेवा उपलब्ध गराइएको छ । परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनाका दुई हजार २९१ केसमा सेवा तथा सहजीकरण गरिएको छ ।
नेपाल सरकारका विभिन्न सुरक्षा निकायलाई दुई हजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको रेडक्रसले जनाएको छ । धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराइएको छ ।
रेडक्रसले प्रभावित समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा तथा सुझावमा आवश्यक जानकारी, सहजीकरण र रेफरल सेवा प्रदान गरेको जनाएको छ । ५८७ मर्यादा किट र एक हजार ८७ स्वच्छता किट वितरण गरिएको तथा बालमैत्री सुरक्षित स्थानमार्फत एक हजार १८९ बालबालिकालाई सेवा दिइएको छ ।
प्रभावित समुदायलाई सूचना तथा सहयोग उपलब्ध गराउन १७ स्थानमा सहायता तथा सूचना कक्ष सञ्चालन गरिएको छ । रेडक्रसले प्रभावित परिवारको आवश्यकता र प्राथमिकताका आधारमा राहत तथा मानवीय सहायता जारी राख्दै पुनःस्थापना तथा पुनर्लाभका लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइका क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्