सोलुखुम्बु, असोज १० । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पर्यटकको आवागमन प्रभावित भएको छ ।
निरन्तर वर्षापछि खुम्बुको माथिल्लो क्षेत्रमा हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरका अनुसार उच्च क्षेत्रमा आधा मिटरभन्दा बढी हिउँ जमेको छ ।
हिमपातका कारण पदयात्रा तथा पर्वतारोहणका लागि माथिल्लो क्षेत्रमा पुगेका पर्यटकलाई जोखिमयुक्त क्षेत्रमा थप अघि बढ्न रोक लगाइएको छ । स्थानीय तह, स्थानीयवासी र प्रहरीसँग समन्वय गरी पर्यटकलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको प्रशासनले जनाएको छ ।
भारी हिमपातका कारण सगरमाथा क्षेत्रको इम्जा छे अर्थात् आइल्यान्ड पिक क्षेत्रमा रोकिएका सात जना विदेशी पर्यटकको उद्धार गरिएको छ । उनीहरू चिनियाँ मूलका युरोपेली नागरिक रहेको प्रशासनले जनाएको छ ।
माथिल्लो क्षेत्रमा आवागमन कठिन भएपछि स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको सहयोगमा उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो ।
हाल सगरमाथा क्षेत्रमा एक हजार दुई सयभन्दा बढी पर्यटक रहेको प्रशासनको भनाइ छ । उनीहरूको अवस्थाबारे स्थानीय तह, प्रहरी तथा अन्य सरोकारवाला निकायमार्फत निरन्तर जानकारी लिइरहेको जनाइएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार प्रतिकूल मौसमका कारण पर्यटक तथा पदयात्रीलाई सावधानी अपनाउन सूचना जारी गरिएको छ ।
गाउँपालिकाले थुक्ला, थोरकसेप र गोक्योलगायत उच्च हिमाली क्षेत्रमा समेत हिमपात भइरहेको जनाएको छ । प्रशासनले मौसम सामान्य नभएसम्म उच्च क्षेत्रमा अनावश्यक आवागमन नगर्न र स्थानीय प्रशासन तथा गाउँपालिकाले जारी गरेका सूचनाको पालना गर्न आग्रह गरेको छ ।












प्रतिक्रिया दिनुहोस्