काठमाडौँ, असोज १० । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किंदै हुनुहुन्छ ।
महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको थियो । उहाँले असोज ८ गते महासभालाई सम्बोधन गर्नुभएको थियो ।
महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको थियो । उहाँले हिमाली क्षेत्रमा बढ्दो जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै जलवायु संकट सिर्जना गर्न कम योगदान गरेका नेपालजस्ता देशले ठूलो मूल्य चुकाइरहेको बताउनुभएको थियो ।
प्रधानमन्त्री शाहले ‘जलवायु परिवर्तनले सीमा चिन्दैन’ भन्दै हिमनदी पग्लिने, पहिरो र बाढीजस्ता जोखिम नेपालसँगै चीन र भारतसम्म फैलिएको बताउनुभएको थियो ।
उहाँले जलवायु न्यायलाई आर्थिक सहयोगमा मात्रै सीमित गर्न नहुने धारणा राख्दै यसलाई वितरणात्मक तथा प्रक्रियागत न्यायको विषयका रूपमा लिनुपर्नेमा जोड दिनुभएको थियो । हिमाली समुदाय, साना टापु राष्ट्र, भूपरिवेष्टित तथा अति कम विकसित देश र भावी पुस्ताको आवाजलाई अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा समान महत्त्व दिनुपर्ने उहाँको भनाइ थियो ।
अमेरिका बसाइका क्रममा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको थियो । ती भेटमा नेपालको प्राथमिकता तथा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।












प्रतिक्रिया दिनुहोस्