जनता टाइम्स

१० आश्विन २०८३, शनिबार १०:२७

सुस्ताको बस्तीमा पस्यो नारायणीको बाढी, १६५ घरपरिवार उच्च जोखिममा


काठमाडौँ, असोज १० । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का बस्तीमा नारायणी नदीको बाढी पसेपछि १६५ घरपरिवार प्रभावित भएका छन्।

शुक्रबारदेखि थारु टोलमा पस्न थालेको बाढीका कारण ७८ घरपरिवारलाई सुस्तामै निर्माण गरिएको होल्डिङ सेन्टरमा सारिएको थियो। शुक्रबार राति सैनिक टोल र बड्का टोलमा समेत बाढी पसेपछि थप ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बेस क्याम्प सुस्ताका प्रहरी उपरीक्षक गोविन्दबहादुर खातीले जानकारी दिनुभयो।

नदीमा पानीको बहाव बढिरहेकोले जोखिममा रहेका परिवारलाई नारायणी नदीवारि सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उहाँले बताउनुभयो। कच्ची घरमा बाढी पसेपछि अधिकांश स्थानीयको जनजीवन प्रभावित भएको छ।

शनिबार बिहान ७ बजेको मापनअनुसार गण्डक ब्यारेजमा नारायणी नदीको पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक पुगेको छ। नारायणी नदीले धार परिवर्तन गरी सुस्तातर्फ सोझिएपछि पानीको बहाव १ लाख क्युसेक पुग्दा बाढी बस्तीमा पस्ने गरेको वडा सदस्य आदम खानले बताउनुभयो।

नदीको सतह निरन्तर बढिरहेकाले सुस्ताका सबै बस्ती जोखिममा रहेको उहाँले बताउनुभयो। निर्माणाधीन तटबन्धको १३२ मिटर क्षेत्र निर्माण हुन बाँकी रहेकाले त्यही ठाउँबाट नदीले कटान गर्दै बस्ती नजिक पुगेको स्थानीय बाबु खानले बताउनुभयो।

बाढीले बस्तीका साथै उखु खेतीमा समेत क्षति पुर्याएको उहाँले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखिममा परेका परिवारलाई उद्धार गर्नुपर्ने अवस्था आए सुरक्षाकर्मीको टोली तयारी अवस्थामा राखिएको बताउनुभयो।