काठमाडौं, असोज १० । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न केन्द्रीय निर्देशन समितिसहित विभिन्न १५ वटा समिति गठन गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको भदौ १ गतेको बैठकले सभापति गगनकुमार थापाको संयोजकत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको थियो। सोही निर्णयअनुसार विभिन्न समितिबीच समन्वय तथा सहजीकरण गर्न, महाधिवेशन प्रक्रिया व्यवस्थित बनाउन र आवश्यक निर्णय तथा व्यवस्थापनका कामलाई प्रभावकारी बनाउन थप समितिहरू गठन गरिएको कांग्रेसले जनाएको छ।
सभापति गगनकुमार थापाको संयोजकत्वमा गठित १५ औँ महाधिवेशन केन्द्रीय निर्देशन समितिमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुषाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा केन्द्रीय सदस्यहरू महालक्ष्मी उपाध्याय ‘डिना’, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, राजेन्द्रकुमार केसी, सुवासकुमार पोख्रेल र सपना राजभण्डारी सदस्य रहनुभएको छ। समितिको सदस्य सचिवमा प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेल रहनुभएको छ।
त्यस्तै, आर्थिक व्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष उमेश श्रेष्ठ तोकिनुभएको छ। सूचना, सञ्चार तथा प्रविधि समितिको संयोजकमा प्रवक्ता देवराज चालिसे रहनुभएको छ। उक्त समितिमा केन्द्रीय सदस्य हरिशरण नेपाली, अजयबाबु शिवाकोटीलगायत सदस्य रहनुभएको छ।
सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिको संयोजकमा उदयशमशेर राणा तोकिनुभएको छ। समितिमा केन्द्रीय सदस्य नानु वास्तोला, प्रकाश पन्थ, मुना भुषाल, निपा चोखाल, ममता शर्मालगायत सदस्य रहनुभएको छ।
यसैगरी अतिथि स्वागत समितिको संयोजकमा सहमहामन्त्री डा. डिला संग्रौला पन्त, महाधिवेशन समारोह स्थल व्यवस्थापन समितिको संयोजकमा काठमाडौं जिल्ला सभापति, तथा प्रदेश र स्थानीय तहगत समन्वय समितिको संयोजकमा सहमहामन्त्री बहादुरसिंह लामा तोकिनुभएको छ।
कांग्रेसले जेष्ठ महाधिवेशन प्रतिनिधि समन्वय समितिको संयोजकमा सुधीर शिवाकोटी, स्वयंसेवक व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य गणेश लामा, भोजन व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य तिलक रानाभाट, तथा आवास व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य रमेशप्रसाद धमलालाई जिम्मेवारी दिएको छ।
त्यस्तै, स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य डा. केदारनरसिंह केसी, यातायात व्यवस्थापन समितिको संयोजकमा केन्द्रीय सदस्य विजयबहादुर स्वाँर र सांस्कृतिक–साहित्यिक संयोजन समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङलाई तोकिएको छ।
कांग्रेसले विधान मस्यौदा समितिमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने र अधिवक्ता प्रमिस खनाललाई थप सदस्यका रूपमा मनोनयन गरेको जनाएको छ।
महाधिवेशनका क्रममा आर्थिक, सूचना तथा सञ्चार, सचिवालय, अतिथि सत्कार, समारोहस्थल, प्रदेश तथा स्थानीय तह समन्वय, प्रतिनिधि समन्वय, स्वयंसेवक, भोजन, आवास, स्वास्थ्य, यातायात तथा सांस्कृतिक व्यवस्थापनलगायतका जिम्मेवारी तोकिएका समितिहरूले आ–आफ्नो कार्यक्षेत्रअनुसार काम गर्ने कांग्रेसले जनाएको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा असोज ९ गते जारी प्रेस विज्ञप्तिमार्फत समितिहरू गठन गरिएको जानकारी दिइएको हो।












प्रतिक्रिया दिनुहोस्