काठमाडौं, असोज ९ । नेकपा (एमाले) केन्द्रीय संगठन विभागको तेस्रो बैठक पार्टीका महासचिव शंकर पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ।
पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले पार्टी संगठनलाई थप सुदृढ, गतिशील, वैचारिक र विधिसम्मत बनाउने विषयमा छलफल गर्दै विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ।
बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको वास्तविक शक्ति सुदृढ, वैचारिक र विधिसम्मत संगठनमा निहित रहेको बताउनुभएको छ। उहाँले मातहतका सबै कमिटी तथा निकायलाई सांगठनिक काममा पूर्ण निष्ठाका साथ सक्रिय हुन निर्देशन दिनुभएको छ।
महासचिव पोखरेलले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय र सन्देशलाई सांगठनिक संरचनामार्फत तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्नेमा जोड दिनुभएको छ। पार्टीका नीति, निर्णय र सन्देशलाई आधार तहसम्म व्यवस्थित रूपमा कार्यान्वयन गराउन संगठनको भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो।
बैठकले पार्टी सदस्यता नवीकरणको पछिल्लो अवस्थाका साथै मातहतका विभिन्न पार्टी कमिटीको कार्यशीलता र सांगठनिक गतिशीलताको वस्तुनिष्ठ समीक्षा गरेको छ। बैठकमा संगठनका गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।
त्यसैगरी बैठकले पार्टीसम्बद्ध जनसंगठनलाई थप क्रियाशील र नतिजामुखी बनाउने तथा पार्टीभित्र उच्च सांगठनिक अनुशासन कायम गर्न आवश्यक ठोस कदम चाल्ने निर्णय गरेको छ।
बैठकमा पार्टी सदस्यता नवीकरण, पालिकास्तरसम्मका कमिटीका अधिवेशन तथा संगठन विभागको आगामी कार्ययोजना प्रस्ताव तयार गर्ने विषयमा समेत छलफल भएको विभाग प्रमुख भानुभक्त ढकालले बताउनुभएको छ।
बैठकले पार्टी संगठनलाई थप व्यवस्थित र गतिशील बनाउँदै तल्लो तहसम्म सांगठनिक गतिविधिलाई प्रभावकारी रूपमा विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।












प्रतिक्रिया दिनुहोस्