काठमाडौं, असोज १० । सशस्त्र प्रहरी बल नेपालका एसपीलाई फोनमार्फत थर्काएको विवादमा तानिएका कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टको जिम्मेवारी खोसिएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीसँग उत्पन्न विवादबारे थप बुझ्नुपर्ने भएपछि भन्सार विभागले भट्टलाई गड्डाचौकीको जिम्मेवारीबाट हटाएको हो।
विभागले भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएर त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन पत्राचार गरेको जनाएको छ। सार्वजनिक भएका विवरण तथा घटनासँग सम्बन्धित विषयमा थप अध्ययन र आवश्यक बुझ्नुपर्ने भएकाले उहाँलाई विभागमा बोलाइएको हो।
भन्सार पास भएर आएको भारतीय गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि भट्ट र एसपी केसीबीच विवाद भएको थियो। सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गाडी तत्काल नछोडिएको विषयमा भट्टले एसपी केसीलाई फोन गर्नुभएको थियो। सो क्रममा भट्टले गाडी तत्काल नछोडिए गृहमन्त्रीदेखि प्रहरी महानिरीक्षक (आईजीपी) सम्मलाई फोन गर्ने भन्दै धम्कि दिनुभएको अडियो सार्वजनिक भएको थियो।
घटनासँग सम्बन्धित विवरण सार्वजनिक भएपछि भन्सार विभागले विषयलाई गम्भीरतापूर्वक लिँदै भट्टलाई जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुन निर्देशन दिएको हो। विभागले घटनाबारे थप अध्ययन तथा आवश्यक बुझाइपछि प्रचलित प्रक्रिया र आवश्यकताअनुसार थप निर्णय लिने जनाएको छ।












प्रतिक्रिया दिनुहोस्