काठमाडौं, असोज १० । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरी आज स्वदेश फर्किनुभएको छ। प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थ मन्त्री स्वर्णिम वाग्ले, गृह मन्त्री सुधन गुरुङ, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री खडकराज पाैडेल लगायतले स्वागत गर्नुभएको थियो।
महासभामा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपालले भोगिरहेको जलवायु सङ्कटलाई विश्व समुदायको ध्यानाकर्षण गराउँदै हिमालय क्षेत्रको बदलिँदो अवस्थाप्रति तत्काल गम्भीर हुन आग्रह गर्नुभएको थियो। प्रधानमन्त्री शाहले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम रहे पनि जलवायु सङ्कटको ठूलो मूल्य नेपालले चुकाइरहेको बताउनुभएको थियो।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रस्तावसमेत गर्नुभएको थियो। हिमालय क्षेत्रको जलवायु जोखिम न्यूनीकरण तथा त्यसबाट प्रभावित मुलुकबीच सहकार्य बढाउन यस्तो संयन्त्र आवश्यक रहेको उहाँले बताउनुभएको थियो।
अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न देशका प्रतिनिधिसँग भेटवार्तासमेत गर्नुभएको थियो।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह गत मंगलबार अमेरिका प्रस्थान गर्नुभएको थियो।












प्रतिक्रिया दिनुहोस्