काठमाडौं, असोज ११ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उहाँलाई महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो ।
एक उच्च प्रहरी अधिकारीका अनुसार जबराविरुद्ध परेको उजुरीका आधारमा उहाँलाई नियन्त्रणमा लिइएको हो । तर उजुरीमा के आरोप लगाइएको हो भन्ने विस्तृत विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
न्यायालयको नेतृत्वमा रहँदा मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका आरोप लागेपछि जबरा विवादमा पर्नुभएको थियो । सोही विषयलाई लिएर कानुन व्यवसायीहरूले उहाँविरुद्ध लामो समय आन्दोलनसमेत गरेका थिए ।
२०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएका जबराविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो ।
महाभियोग प्रस्ताव पारित नभए पनि त्यसपछि उहाँ सर्वोच्च अदालत फर्किन पाउनुभएन । निलम्बित अवस्थामै रहनुभएका जबरा उमेर हदका कारण अनिवार्य अवकाशमा जानुभएको थियो ।












प्रतिक्रिया दिनुहोस्