बुटवल, असोज ११ । लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका मुख्य राजमार्गसहित दर्जनौँ सडक अवरुद्ध भएका छन् । विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयको जनजीवन प्रभावित भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार भालुवाङ–प्यूठान सडकअन्तर्गत सरुमारानी गाउँपालिकाको खहरे खोलामा लेदोसहितको पहिरो खसेपछि आवागमन ठप्प भएको छ । यसबाट प्यूठानको स्वर्गद्वारी जाने तीर्थयात्रुसमेत प्रभावित भएका छन् ।
अर्घाखाँचीको प्रमुख सडक गोरुसिंगे–सन्धिखर्क सडकखण्ड पनि विभिन्न स्थानमा पहिरो खसेपछि अवरुद्ध छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जोखिमलाई ध्यानमा राख्दै हरेक दिन साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पनि पहिरो र रुख ढल्ने क्रम जारी छ । सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै प्रहरीले राति ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकमा आवागमन रोक्ने व्यवस्था गरेको छ ।
गुल्मी र पाल्पा क्षेत्रमा पर्ने कालीगण्डकी करिडोर, गुल्मीको रुद्रबेणी–वामीटक्सार सडक तथा मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–३ स्थित श्रृंगा देउराली र रेसुंगा नगरपालिका–१० सिमिचौरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
यस्तै, रोल्पा नगरपालिका–६ को लालभाङमा पहिरो खस्दा सहिद राजमार्ग अवरुद्ध भएको छ । प्यूठानको नौबहिनी गाउँपालिका–६ मा पहिरो गएपछि बाग्दुला–बाहाने तथा लाखाचौरमा पहिरो खसेपछि बाहाने–खवाङ सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।
नदी किनारका बस्ती जोखिममा
लगातारको वर्षासँगै लुम्बिनी प्रदेशका विभिन्न नदीमा पानीको बहाव बढेपछि नदी किनारका बस्तीसमेत जोखिममा परेका छन् । प्रहरीले जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नुका साथै सार्वजनिक सूचना जारी गरेर सतर्क रहन आग्रह गरिरहेको छ ।
बुटवल क्षेत्रमा तिनाउ र दानव नदीको बहाव बढ्दै गएपछि नदी किनार तथा तिनाउ पुलमुनि बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । बुटवल उपमहानगरपालिकाले कान्ति माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर स्थापना गरी जोखिममा रहेका नागरिकलाई राख्ने व्यवस्था गरेको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नेत्र बुढाक्षेत्रीका अनुसार होल्डिङ सेन्टरमा राखिएकामध्ये अधिकांश महिला तथा बालबालिका छन् । नदीको बहाव थप बढ्दै गएपछि केही नागरिक आफैँ पनि सुरक्षित स्थानतर्फ आउन थालेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले तिनाउ नदी र आसपासका क्षेत्रलाई उच्च जोखिमको सूचीमा राखेको छ । लगातार वर्षा भइरहेकाले नदी किनारका बस्तीका नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्