बागलुङ, असोज ११ । लगातारको वर्षाका कारण बागलुङका दुई राष्ट्रिय राजमार्गसहित दर्जनौँ ग्रामीण सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम बागलुङ बजारसँग यातायात सम्पर्क प्रभावित भएको छ ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गसहित विभिन्न शाखा तथा ग्रामीण सडकमा बाढीपहिरोले क्षति पुर्याएपछि यातायात सेवा प्रभावित बनेको हो ।
गलकोट–ताराखोला सडकअन्तर्गत गाईघाट झरना क्षेत्रमा ताराखोला नदीले सडक कटान गरेपछि शुक्रबारदेखि सडक अवरुद्ध भएको छ । यस्तै, बागलुङ बजार–भकुण्डे सडकको गौडाकोटमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ ।
बागलुङ नगरपालिका–१ रामरेखास्थित गणेशथान घुम्ती–निरयघाट सडक, बागलुङ बजार–सिगाना–सायकोट सडक तथा बागलुङ बजार–दब्ल्याङ–बलेवा–कुश्मिसेरा सडकसमेत पहिरो र कटानका कारण अवरुद्ध भएका छन् ।
यसैगरी, बागलुङ बजार–मुलपानी–तितौरे सडकको तल्लो पात्लेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ । बरेङ जाने सडक, निसीखोलाका ग्रामीण सडक तथा ढोरपाटनका विभिन्न सडकमा समेत पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले वर्षाका कारण राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अवरुद्ध भएको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार अवरुद्ध सडक खुलाउन सडक आयोजना, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी तथा स्थानीय तहसँग समन्वय भइरहेको छ ।
लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा जिल्लाका विभिन्न ग्रामीण बस्तीको सदरमुकामसँगको यातायात सम्पर्क प्रभावित भएको छ ।












प्रतिक्रिया दिनुहोस्