जनता टाइम्स

११ आश्विन २०८३, आईतवार ०७:३९

पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु 


काठमाडौं, असोज ११। अविरल वर्षासँगै आएको पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ ।

दुई दिनदेखि लगातार भइरहेको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी तथा पहिरोको जोखिम बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। प्रहरीका अनुसार पहिरोमा परी माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरेका ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको छ। ठिमुरेमा पहिरोले घर पुरिएपछि बेपत्ता हुनुभएकी सारुको खोजी गर्ने क्रममा शव फेला परेको हो। पहिरोले घर पुरिएपछि उहाँ बेपत्ता हुनुभएको थियो।

यस्तै, माथागढी गाउँपालिका–२, रुप्से रजौलीका चिदीको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोका कारण जिल्लाका विभिन्न ग्रामीण सडक तथा बस्ती जोखिममा परेका छन्।

यसैबीच, कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुलसमेत बगाएको छ। कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याम नजिकै रहेको उक्त पुल बाढीले बगाएको प्रहरीले जनाएको छ।

बाढीका कारण पाल्पाको माडीफाँट डुबानमा परेको छ। झडेवा फाँटलगायतका क्षेत्रमा पानी पस्दा धानबालीमा समेत क्षति पुग्ने अवस्था देखिएको छ।

माथागढी गाउँपालिका–४, झडेवाको देउगीर क्षेत्रमा जमिन चिरिएपछि दर्जनौँ घरपरिवार जोखिममा पर्नुभएको गाउँपालिका अध्यक्ष यम चिदीले बताउनुभएको छ। जमिन चिरिन थालेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ।

लगातारको वर्षाका कारण पाल्पाका नदी तथा खोलानालामा पानीको सतह बढेको छ। सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह र सुरक्षा निकायले उच्च सतर्कता अपनाउन तथा सुरक्षित रहन स्थानीयवासीलाई आग्रह गरेका छन्।