जनता टाइम्स

११ आश्विन २०८३, आईतवार ०७:४५

पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु, तीन बेपत्ता


रूपन्देही, असोज ११ । अविरल वर्षासँगै आएको पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरोमा परी माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक विमल भट्टराईका अनुसार ठिमुरेमा पहिरोले घर पुरिएपछि बेपत्ता भएकी सारुको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस्तै, माथागढी–२ रुप्से रजौलीका चिदीको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम बढेको छ । ग्रामीण सडक तथा बस्तीसमेत प्रभावित भएका छन् ।

यसैबीच, कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगाएको छ । कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याम नजिकै रहेको पुल बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बाढीका कारण पाल्पाको माडीफाँट डुबानमा परेको छ भने झडेवा फाँटलगायतका क्षेत्रमा पानी पस्दा धानबालीमा समेत क्षति हुने अवस्था देखिएको छ ।

माथागढी गाउँपालिका–४ झडेवाको देउगीर क्षेत्रमा जमिन चिरिएपछि दर्जनौँ घरपरिवार जोखिममा परेका छन् । गाउँपालिका अध्यक्ष यम चिदीका अनुसार जोखिममा रहेका स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।

लगातारको वर्षाका कारण पाल्पाका नदी तथा खोलानालामा पानीको सतह बढेको छ । सम्भावित बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह तथा सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् ।