जनता टाइम्स

११ आश्विन २०८३, आईतवार ०७:४६

बुटवलमा तिनाउको बाढीले ५ वटा घर बगायो, पूर्वसूचनाले जोगायो मानवीय क्षति


रुपन्देही, असोज ११ । लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा पाँच वटा घर बगाएको छ । पूर्वसूचनाका आधारमा नदी किनारका सयौँ स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने हुन पाएन ।

बुटवल उपमहानगरपालिका–११ टपमजुवाका पाँच वटा घर बाढीले बगाएको वडा सदस्य नकुल शाहीले जानकारी दिनुभएको छ । उहाँका अनुसार रातभर स्थानीयवासीको उद्धारमा टोली परिचालन गरिएको थियो ।

शनिबार दिउँसोदेखि तिनाउ नदीमा पानीको बहाव बढेपछि बिनापाते, बुद्धनगर, मजुवा र टपमजुवा क्षेत्रका नदी किनारमा बसोबास गर्ने सयौँलाई नजिकैका विद्यालय तथा मन्दिरमा सुरक्षित स्थानमा सारिएको थियो ।

उद्धार गरिएका स्थानीयवासीलाई नवीन स्कुल, उजिरसिंह माध्यमिक विद्यालय र जितगढीस्थित मन्दिरलगायतका सुरक्षित स्थानमा राखिएको जनप्रतिनिधिले जानकारी दिनुभएको छ ।

वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार नदी किनारमै रहेका केही घरमा क्षति पुगेको छ । नदीको सतह बढ्दै गएपछि नगर प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याल, वडाध्यक्ष तथा वडा सदस्यलगायतले विभिन्न क्षेत्रमा पुगेर सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सुरक्षित रहन आग्रह गर्नुभएको थियो ।

इलाका प्रहरी, सशस्त्र प्रहरी तथा जनप्रतिनिधिसहितको टोली जोखिमयुक्त क्षेत्रमा परिचालन गरिएको थियो ।

पाल्पाका विभिन्न क्षेत्रमा पानीको सतह बढेपछि तल्लो तटीय क्षेत्रमा त्रास बढे पनि अहिले तत्काल ठूलो खतरा नरहेको स्थानीयवासीले बताएका छन् ।

अहिले तिनाउमा पानीको सतह घट्दै गएको प्रहरी र स्थानीयवासीले बताएका छन् ।