काठमाडौं, असोज ११ । लगातारको वर्षाका कारण सप्तरीमा पाँच सय घर डुबानमा परेका छन् भने दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । यस्तै, बागलुङसहित देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक तथा बस्ती प्रभावित भएका छन् ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५, ७, १२ र १३ का ४८३ घर तथा तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का १७ घर डुबानमा परेका छन् ।
शुक्रबार राति सप्तकोशी नदीमा पानीको सतह बढेपछि बस्तीमा पानी पसेको हनुमाननगर कङ्कालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रभावित परिवारका लागि बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको छ ।
पानीको सतह केही घटेपछि प्रभावितको पहिचान गरी थप राहत सामग्री उपलब्ध गराउने तयारी रहेको नगर प्रमुख माझीले बताउनुभएको छ ।
बागलुङमा दर्जनौँ सडक अवरुद्ध
लगातारको वर्षाका कारण बागलुङका दुई राष्ट्रिय राजमार्गसहित दर्जनौँ ग्रामीण सडक अवरुद्ध भएका छन् । बाढीपहिरोले कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग तथा विभिन्न शाखा सडकमा क्षति पुर्याएपछि सदरमुकाम बागलुङ बजारसँगको यातायात सम्पर्क प्रभावित भएको छ ।
गलकोट–ताराखोला सडकको गाईघाट झरना क्षेत्रमा ताराखोला नदीले सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ । बागलुङ बजार–भकुण्डे सडकको गौडाकोट, गणेशथान–निरयघाट सडक तथा बागलुङ बजार–सिगाना–सायकोट सडकमा पनि पहिरो खसेपछि यातायात बन्द भएको छ ।
यस्तै, बागलुङ बजार–दब्ल्याङ–बलेवा–कुश्मिसेरा सडक, मुलपानी–तितौरे सडक तथा बरेङ, निसीखोला र ढोरपाटनका विभिन्न ग्रामीण सडकमा समेत पहिरोका कारण यातायात प्रभावित भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँले वर्षाका कारण राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म अवरुद्ध भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार सडक खुलाउन सडक आयोजना, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी तथा स्थानीय तहसँग समन्वय भइरहेको छ ।
लगातारको वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढेकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्