जनता टाइम्स

११ आश्विन २०८३, आईतवार ०७:५५

आज यी स्थानमा हुन सक्छ भारी वर्षा


काठमाडौं, असोज ११ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका अधिकांश भूभागमा बदली रही विभिन्न प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, लुम्बिनीका केही स्थानमा तथा वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । कोसी र मधेस प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघ गर्जन र चट्याङसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।