जनता टाइम्स

११ आश्विन २०८३, आईतवार ०८:०४

पर्वतको जलजलामा बाढीले २० भन्दा बढी घर बगायो


पर्वत, असोज ११ । अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २० भन्दा बढी घर बगाएको छ ।

वडाध्यक्ष हरि विकास जिसीका अनुसार बाढीले अहिलेसम्म २० देखि २५ घर बगाइसकेको छ भने बाढीको बहाव अझै बढ्दो क्रममा रहेको छ । उहाँका अनुसार बाढीले सयभन्दा बढी घरमा समेत क्षति पुर्‍याउन सक्ने अवस्था रहेको छ ।

कालीगण्डकीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष जिसीले जानकारी दिनुभएको छ । उहाँका अनुसार स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएकाले हालसम्म मानवीय क्षति भएको छैन ।

बाढीले घरसँगै स्थानीय विद्यालय, कृषि फर्म, गोठलगायतका भौतिक संरचना तथा धनमालसमेत बगाएको छ । बाढीले बस्तीमा ठूलो क्षति पुर्‍याएको स्थानीय जनप्रतिनिधिले जानकारी दिनुभएको छ ।

कालीगण्डकीमा पानीको बहाव बढिरहेको र बाढी अझै बस्तीतर्फ पसिरहेकाले थप क्षतिको जोखिम रहेको बताइएको छ ।