काठमाडौं, असोज ११ । नेकपा एमालेका नेता सूर्य थापाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको विषयमा सरकारसँग प्रश्न गर्नुभएको छ।
नेता थापाले आफूले जबरालाई व्यक्तिगत रूपमा नचिनेको र उहाँसँग आमनेसामने भएर भेटेर कुराकानीसमेत नगरेको स्पष्ट पार्दै रातारात रहस्यमय ढङ्गले नियन्त्रणमा लिइएको भन्दै आपत्ति जनाउनुभएको हो। “पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई व्यक्तिगत रूपमा म चिन्दिनँ, आमनेसामने भएर र भेटेर कुरा भएको छैन। बालेन फर्किनासाथ उहाँ गिरफ्तार हुनुभएको भनिएको छ। किन हो? के आरोप, उजुरी वा कसको झोसपोल र आदेशमा रातारात रहस्यमय तवरले नियन्त्रणमा लिइएको हो ?” उहाँले भन्नुभएको छ।
उहाँले कानुनी राजमा नागरिकलाई जानकारी नगराई मनोमानी ढङ्गले पक्राउ गर्न नमिल्ने जिकिर गर्नुभएको छ। यस्तो शैलीको पक्राउलाई उहाँले असभ्य, तानासाही र गुण्डाराजको संज्ञा दिँदै निन्दा गर्नुभएको छ। “नागरिकलाई जानकारी नगराई मनोमानी ढङ्गले दुर्व्यवहारको शैलीमा पक्राउ गरिनु असभ्य, तानासाही र गुण्डाराज हो। यसको जति निन्दा गरे पनि कम हुन्छ”, थापाले भन्नुभएको छ।
प्रधानमन्त्रीको आदेशमा जबरालाई पक्राउ गरिएको हो भने प्रहरीले त्यसको कारण सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ। प्रहरीले पक्राउको कारणसमेत बताउन नसक्नु राज्य संयन्त्रको जबाफदेहितामाथि प्रश्न उठ्ने विषय भएको उहाँले उल्लेख गर्नुभएको छ। “प्रधानमन्त्रीको आदेशमा पक्रेर प्रहरीले किन भन्ने बताउन नसक्नु लाचार छायाँ बन्नु हो। संविधान र कानुनबमोजिमका उत्तरदायित्व, जबाफदेही र जिम्मेवारी बहन गर्नुपर्ने भएमा कानुनी प्रक्रिया पुर्याएर मात्रै गर्न सक्नुपर्छ”, उहाँले भन्नुभएको छ।
नेता थापाले जबराको गिरफ्तारीलाई उहाँको व्यक्तिगत विषयमा मात्रै सीमित नरहेको दाबीसमेत गर्नुभएको छ। उहाँका अनुसार यो न्यायपालिकालाई तर्साउने र आफ्नो निहित उद्देश्यअनुरूप कज्याउने प्रयास हुनसक्ने देखिएको छ। “यो गिरफ्तारी व्यक्ति चोलेन्द्रशमशेर राणाको मात्रै नभएर न्यायपालिका तर्साउने र आफ्नो निहित उद्देश्यअनुरूप कज्याउने कोसिस हो भन्ने स्पष्ट छ”, उहाँले भन्नुभएको छ।
राज्यले छानबिन गर्नुपर्ने अवस्था भए कानुनी प्रक्रिया पूरा गरेर मात्रै पक्राउ गर्नुपर्ने उहाँको जिकिर छ। अदालतको अनुमतिमा पक्राउपूर्जी जारी गरी कानुनी प्रक्रिया पूरा गर्नुपर्ने उहाँले बताउनुभएको छ । “राज्यले छानबिन गर्नुपर्ने भएमा अदालतको अनुमतिमा पक्राउपूर्जी जारी गरी प्रक्रिया पुर्याएर मात्रै गर्न सक्छ। यस सम्बन्धमा के भए–गरेको हो ? बालेन साह र उहाँको आदेशमा पाकिस्तानी मोडेलमा अपमानजनक गिरफ्तारी गर्ने निकायहरूलाई अविलम्ब सार्वजनिक जानकारी गराउन जोडदार माग गर्दछौँ”, थापाले भन्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्