जनता टाइम्स

११ आश्विन २०८३, आईतवार १०:०४

पाल्पामा पहिरोले घर पुरिँदा एकै घरका २ सहित ३ जना बेपत्ता


 काठमाडौं, असोज ११ । पाल्पाको माथागढी गाउँपालिका–३, भसकट्टामा वर्षाका कारण पहिरो खस्दा एक घर पुरिएको छ। पहिरोमा परी घरधनीसहित तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आज बिहान करिब ४ः३० बजे माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो खस्दा लिलबहादुर घर्ती मगरको घर पूर्णरूपमा पुरिएको हो। पहिरोमा परी घरधनी लिलबहादुर घर्ती मगर, उहाँकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्ती मगरकी १५ वर्षीया छोरी झरना घर्ती बेपत्ता भएको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण पहिरो खसेपछि उनीहरू घरभित्रै पुरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको छ।

पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य अघि बढाउन स्थानीयवासी तथा अन्य सुरक्षा निकायसँग समेत समन्वय भइरहेको जनाइएको छ। लगातार वर्षा भइरहेकाले घटनास्थलमा थप पहिरो तथा जोखिम हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार टोलीले आवश्यक सतर्कता अपनाएर खोजी कार्य गरिरहेको छ।

घटनाबारे थप विवरण तथा बेपत्ताको अवस्थाबारे उद्धार कार्यपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ।