नारायणगढ, असोज ११ । त्रिशूली नदीले सडक कटान गर्दा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा सडक भासिएको छ । आइतबार बिहान करिब ८ः४५ बजे नदीको कटानका कारण सडक भासिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सडक भासिएपछि हाल एकतर्फी रूपमा मात्र यातायात सञ्चालन भइरहेको छ ।
यसैबीच, अविरल वर्षाका कारण चितवनका विभिन्न क्षेत्रमा डुबान भएको छ । भरतपुर महानगरपालिका–१६ को गुम्बाचोक, झनझने र शरणपुर तथा वडा नम्बर १७ को मजुवा क्षेत्रमा नारायणी नदी पसेर २६० घर डुबानमा परेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो ।
नारायणगढ र देवघाट क्षेत्रमा समेत डुबान भएको छ । नदी किनारको गौरेश्वर मन्दिर, आधारभूत विद्यालय तथा केही घरमा पानी पसेको प्रजिअ अर्यालले बताउनुभयो ।
माडी क्षेत्रमा रिउ खोलाको बाढीले डुबान गरेको भए पनि त्यहाँ भएको क्षतिको विवरण प्राप्त भइनसकेको प्रशासनले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।
पूर्वी नवलपरासीको गैँडाकोटमा पनि नारायणी नदीको पानी बस्ती तथा नदी किनारका संरचनामा पसेको छ । स्थानीय ज्ञानप्रसाद न्यौपानेका अनुसार द नारायणी रिसोर्ट, होटल रिभर क्राउनलगायतका संरचनामा डुबानको असर परेको छ भने नदी किनारका केही घरसमेत डुबानमा परेका छन् ।












प्रतिक्रिया दिनुहोस्