काठमाडौं, असोज ११ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सुरक्षा थ्रेट रहेको जानकारी पाएपछि अपराध अनुसन्धान कार्यालय टेकुमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।
अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षा जोखिम रहेको सूचना पाएपछि राति नै महाराजगञ्जस्थित निवासबाट कार्यालयमा ल्याइएको जानकारी दिनुभएको छ ।
प्रहरी टोलीले गएराति जबरालाई नियन्त्रणमा लिएर टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखेको हो ।
जबरालाई नियन्त्रणमा लिनुअघि कुनै अदालतबाट पक्राउ पुर्जी नलिइएको अदालतसम्बद्ध स्रोतले जनाएको छ । पक्राउ पुर्जी नभएको अवस्थामा जरुरी पक्राउ अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको स्रोतको भनाइ छ ।
प्रहरी नियन्त्रणमा लिन आएपछि जबराले आफ्ना भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराउनुभएको थियो । प्रभुशम्शेरका अनुसार प्रहरीले ‘जेनजीबाट सुरक्षा थ्रेट रहेको’ भन्दै जबरालाई नियन्त्रणमा लिएर गएको थियो ।
जबरालाई अहिले अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएको र भेटघाटमा समेत रोक लगाइएको उहाँनिकट स्रोतले जनाएको छ । जबराका छोरा भने उहाँलाई भेट्न टेकु पुगेका छन् ।












प्रतिक्रिया दिनुहोस्