काठमाडौं, असोज ११ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कुनै प्रमाण र अभियोगबिना पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानुन तथा न्याय प्रणालीको गम्भीर उल्लङ्घन भएको बताउनुभएको छ।
महासचिव पोखरेलले यस्तो कार्य संविधान, लोकतान्त्रिक व्यवस्था र विधिको शासन (Rule of Law) को मर्म विपरीत रहेको धारणा व्यक्त गर्नुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै “बिना कुनै प्रमाण र अभियोग पूर्वप्रधानन्यायाधीशलाई गरिएको गिरफ्तारी नेपालको प्रचलित कानुन र न्याय प्रणालीको गम्भीर उल्लङ्घन हो” भन्नुभएको छ।
महासचिव पोखरेलका अनुसार कानूनको शासनमा प्रत्येक व्यक्तिको अधिकार र न्यायिक प्रक्रियाको सम्मान हुनुपर्नेमा त्यस विपरीत हुने कुनै पनि कार्यले लोकतान्त्रिक व्यवस्थामाथि प्रश्न उठाउने अवस्था सिर्जना गर्छ। उहाँले यस्तो कार्यलाई समर्थन गर्नु “प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु” भएको टिप्पणी गर्नुभएको छ।
महासचिव पोखरेलले गलत तथा गैरकानुनी कार्यविरुद्ध सबैले खबरदारी गर्नुपर्नेमा जोड दिनुभएको छ। “यस्तो गैरकानुनी र स्वेच्छाचारी कार्यलाई समर्थन गर्नु भनेको प्रत्यक्ष रूपमा तानाशाही प्रवृत्तिलाई प्रश्रय दिनु हो। तसर्थ सबैले गलत कामको खबरदारी गरौँ,” उहाँले भन्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्