जनता टाइम्स

११ आश्विन २०८३, आईतवार १४:३०

चोलेन्द्रलाई परिवारको जिम्मा लगाइयो, प्रहरी कार्यालयबाट छुटे


काठमाडौं, ११ असोज । शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ परेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई परिवारको जिम्मा लगाइएको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले केहीबेरअघि जबरालाई परिवारको जिम्मा लगाइएको जानकारी दिनुभएको छ ।

यसअघि अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई ‘सुरक्षित ठाउँमा’ पठाइएको बताउनुभएको थियो । तर ‘सुरक्षित ठाउँ’ कहाँ हो भन्ने उहाँले खुलाउनुभएको थिएन ।

गएराति अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले महाराजगञ्जस्थित निवासबाट जबरालाई नियन्त्रणमा लिएको थियो । उहाँलाई भेट्न अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न दिएको थिएन । करिब ४५ मिनेट गेटमा कुर्दा पनि भेट्न नदिएपछि आयोगको टोली फर्किएको थियो ।

सरकारले जबरालाई नियन्त्रणमा लिनुपर्नाको स्पष्ट कारण सार्वजनिक गरेको छैन । एसएसपी खड्काले भने सुरक्षा थ्रेट रहेको जानकारी पाएपछि जबरालाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको बताउनुभएको छ ।

प्रहरी टोली निवास पुगेपछि जबराले आफ्ना भाइ प्रभुशम्शेरलाई फोन गरेर जानकारी गराउनुभएको थियो । प्रभुशम्शेरका अनुसार प्रहरीले ‘जेनजीबाट सुरक्षा थ्रेट रहेको’ भन्दै जबरालाई नियन्त्रणमा लिएर गएको थियो ।

जबरालाई नियन्त्रणमा लिने प्रहरीको शैली र प्रक्रियामाथि कानुनका जानकारहरूले प्रश्न उठाएका छन् ।