मनाङ, असोज ११ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले मनाङको सदरमुकाम चामेसहितका बस्ती जोखिममा परेका छन् । सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा क्षति पुगेपछि स्थानीयवासी उद्धार र सुरक्षित स्थानान्तरणको पर्खाइमा छन् ।
चामे आसपासका डाँडाबाट पटक–पटक पहिरो खसिरहेको छ भने घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदीसमेत थुनिएको स्थानीय प्रशासनले जनाएको छ । नदीको बहाव बढिरहेका कारण तटीय क्षेत्रमा थप जोखिम देखिएको छ ।
पहिरोबाट जोगिन स्थानीयवासी पटक–पटक सुरक्षित स्थानतर्फ भाग्नुपरेको बताएका छन् । बालबालिका, ज्येष्ठ नागरिक र अशक्तलाई सुरक्षित स्थानमा लैजान झन् समस्या भएको उनीहरूको गुनासो छ ।
चामे गाउँपालिकाकी सामुदायिक स्वास्थ्य अधिकृत छोदेन याङचेन लामाले उद्धारका लागि पटक–पटक आग्रह गर्दा पनि हेलिकप्टर नआएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
‘हाम्रो मान्छे के भेडाबाख्रा हुन् र यसरी बेवास्ता गर्नलाई ? सक्छ भने नेपाल सरकारले जिउँदै छँदा मान्छे बचाउन आऊ, नत्र हामी मरिसकेपछि यहाँ लास खोज्न आउनुपर्दैन,’ उहाँले भन्नुभएको छ ।
शनिबार राति बाढी र पहिरो बढेपछि स्थानीयवासीले मर्स्याङ्दी किनार छाडेर जङ्गलतर्फ गएर रात बिताउनुपरेको उहाँले बताउनुभयो । उहाँका अनुसार बस्तीमाथिबाट पहिरो खसिरहेको र तल जमिन भासिइरहेका कारण सुरक्षित स्थान पहिचान गर्नसमेत कठिन भएको छ ।
‘हामी सक्नेहरू त दौडेर पनि कतै जाउँला । तर साना–साना नानीबाबु र वृद्धवृद्धालाई कसरी लैजाने ? लैजाने पनि कहाँ लैजाने ? यहाँ सुरक्षित भन्ने केही छैन,’ उहाँले भन्नुभयो ।
यसैबीच चामेमा बाढीले कम्तीमा चार घर र चारवटा पुल बगाएको तथा सडक, विद्युत् र सञ्चार संरचनामा क्षति पुगेको छ । नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिका सञ्चार सम्पर्कविहीन बनेका छन् । बेँसीसहर–चामे सडकसमेत अवरुद्ध भएको छ ।
स्थानीय सुरक्षाकर्मीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन् । तर लगातार पहिरो खसिरहेका कारण उद्धार तथा सडक खुलाउने काम चुनौतीपूर्ण बनेको छ ।
यसैबीच हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १० जनामध्ये दुई जनाको शव आइतबार चामे ल्याइएको छ । बाँकीको खोजी भने मौसम तथा रात परेका कारण तत्काल सम्भव नभएको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले बताउनुभएको छ ।
मनाङमा बाढीपहिरोबाट सडक र पुलमा क्षति पुगेपछि स्थलमार्गबाट उद्धार तथा राहत सामग्री पुर्याउन कठिनाइ भएको छ । स्थानीयवासीले जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न र आवश्यक राहत तथा उद्धार सामग्री उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्