जनता टाइम्स

११ आश्विन २०८३, आईतवार २१:१२

जबरालाई ‘जेनजीबाट थ्रेट’ भन्दै नियन्त्रणमा लिएपछि जेनजी अगुवाको प्रश्न : थ्रेट कसबाट ?


काठमाडौं, असोज ११ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेनजीबाट सुरक्षा थ्रेट’ रहेको भन्दै प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएपछि जेनजी प्रतिनिधिहरूले आपत्ति जनाएका छन् ।

जेनजी अगुवाहरूले सुरक्षा खतरा रहेको दाबी गरिएको भए त्यसको स्रोत र धम्की दिने व्यक्तिबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् । उनीहरूले कुनै व्यक्तिको गतिविधिलाई आधार बनाएर सिंगो पुस्तालाई बदनाम गर्न नहुने बताएका छन् ।

जेनजी प्रतिनिधि तनुजा पाण्डेले धम्की दिने व्यक्तिको पहिचान नखुलाई ‘जेनजीबाट थ्रेट’ आएको भन्नु सिंगो पुस्तामाथि आरोप लगाउने काम भएको बताउनुभयो ।

उहाँले जबरालाई साँच्चिकै सुरक्षा खतरा रहेको भए निवासमै सुरक्षा व्यवस्था गर्न सकिने भन्दै मध्यरातमा घरबाट नियन्त्रणमा लिने प्रक्रियामाथि प्रश्न उठाउनुभयो ।

‘सरकारले आफ्नै रिस फेर्न जेनजीको नाम लिएको जस्तो लाग्यो । प्रमाण देखाउनु पर्‍यो नि त, हामी पनि जान्न चाहन्छौँ को व्यक्तिले थ्रेट दियो भनेर,’ उहाँले भन्नुभयो ।

जेनजी प्रतिनिधि माजिद अन्सारीले पनि जबरालाई नियन्त्रणमा लिँदा कानुनी प्रक्रिया र सुरक्षा थ्रेटबारे प्रश्न उठाउनुभएको छ । उहाँले पूर्वप्रधानन्यायाधीशजस्तो व्यक्तिलाई समेत यसरी नियन्त्रणमा लिइनुले नागरिकको सुरक्षा र कानुनी प्रक्रियाबारे प्रश्न उठेको बताउनुभयो ।

उहाँले जबरालाई धम्की दिने व्यक्ति को हो भन्ने सरकारले सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो ।

‘गृहमा रहेका जेनजीबाट थ्रेट आएको हो कि, प्रधानमन्त्रीको सचिवालयमा रहेका जेनजीबाट हो कि, संसदमा रहेका जेनजीबाट हो कि, घाइते जेनजी वा सहिद परिवारबाट आएको हो ? सरकारले स्पष्ट पार्नुपर्छ,’ उहाँले भन्नुभयो ।

जेनजीकै नाम लिएर सिंगो पुस्तालाई बदनाम गर्न नहुने उहाँको भनाइ छ । धम्की दिने व्यक्ति पहिचान भएको भए अनुसन्धान गरी कानुनी कारबाही अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

जेनजी प्रतिनिधि रक्षा बमले पनि घटनाप्रति प्रश्न उठाउँदै जेनजी कुनै संगठित सुरक्षा खतरा भएको भए त्यसको प्रमाण सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले प्रमाणबिना जेनजीको नाममा सुरक्षा खतरा देखाएर जबरालाई नियन्त्रणमा लिएको भए त्यसले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउने बताउनुभएको छ ।

यसअघि प्रहरीले भने जबरालाई सुरक्षा थ्रेट रहेको सूचना आएपछि राति नै केही हुनसक्ने भएकाले सुरक्षाका लागि अपराध अनुसन्धान कार्यालयमा ल्याइएको जनाएको थियो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले मध्यरातमै भौतिक आक्रमण हुनसक्ने सूचना आएको बताउनुभएको थियो ।

जबरालाई करिब १२ घण्टा प्रहरी कार्यालयमा राखिएपछि आइतबार दिउँसो परिवारको जिम्मा लगाइएको थियो । प्रहरीले उनलाई ‘सुरक्षित स्थान’मा पठाइएको बताएको थियो ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगको टोलीले जबरालाई भेट्न खोज्दा प्रहरीले प्रवेश नदिएको भन्दै आयोगले आपत्ति जनाएको छ । आयोगले आफ्नो संवैधानिक तथा कानुनी दायित्व पूरा गर्न अवरोध गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।