काठमाडौं, असोज १२ । बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध मुख्य राजमार्ग तथा सडकखण्ड आजदेखि क्रमशः सञ्चालनमा ल्याउने तयारी गरिएको छ । वर्षा रोकिएसँगै पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं जोड्ने मुख्य नाका पृथ्वी राजमार्गको धादिङ खण्डमा खसेका अधिकांश पहिरो पन्छाउने काम सकिएको छ । तर बेनीघाटनजिकै गएराति पुनः पहिरो खसेकाले सडक खुलाउन काम भइरहेको छ । धादिङ प्रहरीले आज दिउँसोपछि सवारीसाधन सञ्चालनमा ल्याउन सकिने जनाएको छ ।
कृष्णभीरमा भने पहिरोको जोखिम कायमै रहेकाले सडकको अवस्था निरीक्षण गरेर मात्रै सवारी सञ्चालन गर्ने तयारी छ ।
काठमाडौं जोड्ने अर्को प्रमुख नाका बीपी राजमार्गमा पनि पहिरो पन्छाउने काम भइरहेको छ । काभ्रे प्रहरीले सडक कहिले पूर्णरूपमा खुल्छ भन्ने यकिन भइनसकेको जनाएको छ । मुग्लिन–नारायणगढ सडकखण्डमा भने पहिरो पन्छाउने काम सकिएको छ ।
काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथमा अझै पहिरो हटाउन बाँकी छ । सडक विभागका अनुसार नारायणगढ–मुग्लिन, नारायणगढ–बुटवल, कान्ति लोकपथ, सिद्धिचरण राजमार्ग, कालीगण्डकी करिडोर, बागलुङ–बेनी सडक, तमोर करिडोर, राप्ती राजमार्ग, कर्णाली राजमार्ग तथा भालुवाङ–चकचके–लिवाङ सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेर यातायात प्रभावित भएको छ ।
लमजुङ–मनाङ, पर्वत–बागलुङ र म्याग्दी–मुस्ताङबीचको सडक सम्पर्कसमेत टुटेको छ । पुल जोड्ने पहुँच सडक बाढीले बगाएपछि ती सडकमा यातायात ठप्प भएको हो ।
ती क्षेत्रमा पहुँच सडक निर्माण गरी यातायात सञ्चालनमा ल्याउन अझै केही दिन लाग्ने सडक विभागले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्