जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार ०७:२९

काठमाडौंमा हुस्सु, देशभर झरी रोकियो


काठमाडौं, असोज १२ । लगातारको वर्षा रोकिएपछि काठमाडौं उपत्यकामा आज बिहान हुस्सु लागेको छ । हुस्सुसँगै उपत्यकामा चिसोसमेत बढेको छ ।

मौसमविद्का अनुसार केहीबेरपछि हुस्सु हटेर मौसम घमाइलो हुने सम्भावना छ । काठमाडौंमा हिजैदेखि घाम लाग्न थालेको थियो ।

देशका धेरै ठाउँमा गत बुधबार बेलुकादेखि सुरु भएको वर्षा गएरातिदेखि रोकिएको छ । पश्चिमी क्षेत्रमा हिजो बेलुकासम्म सक्रिय रहेको वर्षा रातिदेखि रोकिएको हो । पूर्वी क्षेत्रमा हिजो बिहानदेखि र मध्य क्षेत्रमा हिजो दिउँसोदेखि नै वर्षा रोकिएको थियो ।

वर्षा रोकिए पनि बाढी आएका नदी तथा खोलामा अझै जोखिम कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नारायणी नदीमा आज दिउँसोसम्म र कालीगण्डकी नदीमा आज बिहानसम्म जोखिम रहनेछ ।

आज हिमाल र पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।