जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार ०७:३१

कालीगण्डकीको बाढी हेर्न जाँदा लडेर बागलुङमा एक जनाको मृत्यु


बागलुङ, असोज १२ । कालीगण्डकी नदीमा आएको बाढी हेर्न जाँदा लडेर बागलुङमा एक जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामेको नदीको बहाव र कटान हेर्ने क्रममा ढिकबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

आइतबार साँझ भएको घटनामा गोतामेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि पर्वतको जलजला गाउँपालिका–८ फर्से र बागलुङ नगरपालिका–४ ढोडेनी क्षेत्रमा नदीले कटान गरिरहेको छ ।

यसैबीच, बागलुङमा पछिल्लो दुई दिनमा बाढीपहिरोका कारण १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

प्रहरीका अनुसार आइतबार मात्रै तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ । शनिबार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।