जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार ०७:३४

बाढीपहिरोले धवलागिरिमा सडक सञ्जाल विच्छेद, चार जिल्लामा यातायात प्रभावित


गण्डकी, असोज १२ । कालीगण्डकी नदीमा आएको बाढीले धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सडकखण्डमा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीका कारण मध्यपहाडी लोकमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिकास्थित नयाँपुलमा करिब १ सय मिटर सडक बाढीले बगाएको छ ।

पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको पुलमा समेत क्षति पुगेपछि सवारी आवागमन बन्द भएको जिल्ला ट्राफिक कार्यालय पर्वतले जनाएको छ । पुलको पर्वततर्फको भाग भत्किएकाले जीर्णोद्धार नगरेसम्म सवारी सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईले बताउनुभयो ।

नयाँपुलमा सडकको पूरै भाग कटान भएकाले अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउन केही दिन लाग्ने जनाइएको छ ।

कास्कीलगायत जिल्लाबाट बागलुङ, म्याग्दी र मुस्ताङतर्फ जाने साना सवारीसाधन छमर्केबाट पाङ हुँदै वैकल्पिक सडक प्रयोग गर्न बाध्य भएका छन् । ठूला सवारीसाधन भने बाटोमै रोकिएका छन् ।

मध्यपहाडी लोकमार्ग हुँदै बागलुङबाट पूर्वी रुकुम, पश्चिम रुकुमलगायत जिल्लातर्फ जाने लामो दूरीका सवारीसाधनसमेत सञ्चालन हुन सकेका छैनन् । सडक अवरुद्ध भएपछि बिरामी तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने यात्रुलाई थप समस्या भएको छ ।

मालढुङ्गादेखि बेनी हुँदै मुस्ताङ जोड्ने सडकसमेत अवरुद्ध भएको छ । पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा पहिरो र भलले सडक कटान गरेपछि यातायात सेवा ठप्प भएको गाउँपालिका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

उहाँका अनुसार फर्से र लस्ती क्षेत्रमा दुई–तीन ठाउँमा बाढीले सडक कटान गरेको छ । यसका कारण केही दिन यातायात सेवा प्रभावित हुने देखिएको उहाँले बताउनुभयो ।

बाढीले जलजला–८ फर्सेको पुरानो बजारसमेत बगाएको छ । फर्सेमा ६६ घरमा क्षति पुगेको र २५ घर उच्च जोखिममा रहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

बाढीका कारण मानवीय क्षति नभए पनि भौतिक संरचनामा ठूलो क्षति पुगेको उहाँले बताउनुभयो ।