जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार ०७:३८

आज सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै


काठमाडौं, असोज १२ । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने यो दिवस सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसङ्घको महासभाको ७४औँ अधिवेशनले मनाउने निर्णय गरेको हो । युनेस्कोको सिफारिस तथा लोकतन्त्रका लागि सूचनामा पहुँचको आवश्यकतालाई ध्यानमा राख्दै दिवस मनाउने निर्णय गरिएको थियो ।

विश्वभर नागरिकलाई सूचनाको हकबारे जानकारी गराउने तथा सूचनामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरिएको राष्ट्रिय सूचना आयोगले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार समितिले सन् २०११ मा सूचनामा पहुँचको अधिकार अभिव्यक्ति स्वतन्त्रताको अभिन्न हिस्सा भएको स्वीकार गरेको थियो । सूचनाको हकअन्तर्गत सार्वजनिक निकायले कानुनले तोकेका सीमित अपवादबाहेक सूचना उपलब्ध गराउने र सार्वजनिक महत्वका सूचना स्वतः प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ ।

ग्रामीण क्षेत्रका नागरिक, सीमान्तकृत तथा पिछडिएका समुदायमा सूचनाको हकबारे अझै पर्याप्त जानकारी र चेतना पुग्न बाँकी रहेको आयोगले जनाएको छ । आयोग, सूचनाको हकका अभियानकर्मी तथा सञ्चारमाध्यमले यससम्बन्धी जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

आयोगले सूचना प्रवाहलाई सहज बनाउन सामाजिक सञ्जाल, इन्टरनेट र इमेलजस्ता विद्युतीय माध्यमको प्रभावकारी प्रयोगमा जोड दिँदै आएको छ ।

सूचनाको हकलाई स्थानीय तहसम्म पुर्‍याउन राष्ट्रिय सूचना महासङ्घले समेत जागरण तथा अन्तर्क्रियालगायत कार्यक्रम गर्दै आएको जनाएको छ ।

नेपालको संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ लगायत कानुनी व्यवस्था भए पनि तीनै तहका सरकारले सूचनाको हकलाई बजेट, नीति तथा कार्यक्रममा पर्याप्त प्राथमिकता दिन नसकेको महासङ्घका अध्यक्ष उमीद बागचन्दले बताउनुभयो ।

सूचनाको हक नागरिकलाई अधिकारसम्पन्न बनाउने महत्वपूर्ण कानुनी व्यवस्था भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि अभियानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले आयोगमा शीघ्र पदाधिकारी नियुक्तिका लागि वातावरण बनाउन ध्यानाकर्षण गराउँदै रचनात्मक कार्यक्रमसहित दिवस मनाउन लागिएको जानकारी दिनुभएको छ ।