बागलुङ, असोज १२ । अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
आइतबार मात्रै तमानखोला र निसीखोला गाउँपालिकामा पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । शनिबार ताराखोलामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँका अनुसार तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले आठ घर बगाएको छ ।
तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता हुनुहुन्छ ।
यस्तै, निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उहाँका छोराहरू १३ वर्षीय मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान हुनुहुन्छ ।
निसीखोला–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको पनि मृत्यु भएको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको बताउनुभएको छ । प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ ।
तनहुँका २४ घरमा क्षति
लगातारको वर्षासँगै आएको बाढी र पहिरोले तनहुँका छ स्थानीय तहका २४ घरमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार व्यास नगरपालिकामा पाँच, म्याग्देमा दुई, घिरिङमा छ, ऋषिङमा दुई, बन्दीपुरमा चार र भानु नगरपालिकामा पाँच घरमा क्षति पुगेको छ ।
प्रहरीले प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेको छ । पहिरोले व्यास–१ स्थित राइस मिलमा क्षति पुर्याउँदा एक सय बोरा धान भिजेको छ भने भिमाद–६ मालेबगरमा कुखुराफार्म र बंगुरको खोर बगाएको छ ।
यस्तै, देवघाट गाउँपालिका–५ स्थित सीता गुफा परिसरमा कालीगण्डकी नदीको बाढीले शौचालय, बाथरुम र १०८ शिवलिङ्गसहितको ओमकार मूर्ति बगाएको छ । गुफाका ७६ वर्षीय पुजारी शिवानन्द गिरीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्