काठमाडौं, असोज १२ । अविरल वर्षासँगै आएको पहिरो र बाढीका कारण काठमाडौँ उपत्यका जोड्ने सात राष्ट्रिय राजमार्गमा यातायात प्रभावित भएको छ । सडकमा पहिरो खस्नुका साथै बाढीले सडक कटान र डाइभर्सन बगाउँदा यातायात सञ्चालनमा समस्या भएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी–५ बाङ्गेमोडमा ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेको छ । पहिरो हटाउने काम भइरहे पनि सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने उहाँले बताउनुभयो ।
पृथ्वी राजमार्गकै कृष्णभीरमा खसेको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएका छन् । तर चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले नियमित यातायात सञ्चालन हुन सकेको छैन ।
पहिरो पन्छाउने क्रममा पुनः वर्षा भए माथिबाट पहिरो खस्ने जोखिम रहेकाले यातायात सञ्चालनमा थप समस्या हुन सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
वर्षाका कारण पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित सात राष्ट्रिय राजमार्गमा यातायात प्रभावित भएको छ । कान्ति लोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा खसेको पहिरो हटाउने काम भइरहेको छ ।
बीपी राजमार्गको माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो खसेको तथा बाढीले डाइभर्सन बगाएपछि यातायात अवरुद्ध भएको छ ।
दक्षिणकाली–सिस्नेरी सडकखण्डमा भने साना सवारीसाधन सञ्चालन भइरहेका छन् । ठूला सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता सुवेदीले बताउनुभयो ।
ट्राफिक प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म धैर्य गर्न, जबर्जस्ती अवरुद्ध सडक पार नगर्न र सडकको अवस्थाबारे पूर्वसूचना लिएर मात्रै यात्रा गर्न यात्रु तथा चालकलाई आग्रह गरेको छ ।












प्रतिक्रिया दिनुहोस्