जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार १०:५०

विपद् आउँदा होस् या विकासका लागि, सिङ्गो प्रादेशिक व्यवस्था हाम्रो देशको आवश्यकता : मुख्यमन्त्री किरण थापा मगर


काठमाडौं, असाेज १२। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सरकार बोझिलो र खर्चिलो भएको भन्ने आम बुझाइ तथ्यगत नभएको बताउनुभएको छ। उहाँले प्रदेश सरकारको कुल बजेटको ठूलो हिस्सा विकास निर्माण तथा दीर्घकालीन सम्पत्ति सिर्जनामा खर्च हुने भएकाले प्रदेश संरचनालाई अनावश्यक बोझका रूपमा बुझ्न नहुने धारणा राख्नुभएको हो।

मुख्यमन्त्री थापा मगरका अनुसार बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको कुल बजेट ६६ अर्ब ९३ करोड रुपैयाँ रहेको छ। त्यसमध्ये तलब, भत्ता, कार्यालय सञ्चालन, मर्मतसम्भार तथा सामाजिक सुरक्षालगायत नियमित प्रकृतिका कार्यक्रममा हुने चालु खर्च २२ अर्ब ९६ करोड रुपैयाँ अर्थात् ३४.३१ प्रतिशत मात्रै रहेको उहाँले बताउनुभएको छ।

त्यसैगरी, विकास बजेटतर्फ ४३ अर्ब ९७ करोड रुपैयाँ अर्थात् ६५.६९ प्रतिशत विनियोजन गरिएको उहाँको भनाइ छ। उक्त रकम दीर्घकालीन सम्पत्ति सिर्जना गर्ने तथा नागरिकको दैनिक जीवनलाई सहज बनाउने विकासका पूर्वाधार निर्माणमा खर्च हुने मुख्यमन्त्री थापा मगरले स्पष्ट पार्नुभएको छ।

उहाँले प्रदेश संरचनामा सुधारको आवश्यकता रहेको स्वीकार गर्दै सरकारले मन्त्रालयको संख्या घटाउनेदेखि विभिन्न कार्यालयहरू गाभ्नेसम्मका काम गरिसकेको जानकारी दिनुभयो। प्रदेश सरकारको संरचना र खर्च व्यवस्थापनबारे थप अध्ययन भइरहेको पनि उहाँले बताउनुभयो। मुख्यमन्त्री थापा मगरले भन्नुभयो, ‘प्रदेश सरकार बोझिलो भयो, खर्चिलो भयो भन्ने आम सर्वसाधारणले सायद नबुझेरै भन्नुभएको हुनुपर्छ।’

उहाँले प्रदेश संरचनामा सुधार आवश्यक भए पनि सिंगो प्रादेशिक व्यवस्था भने मुलुकको आवश्यकता भएको दाबी गर्नुभयो। विकास निर्माणदेखि विपद् व्यवस्थापनसम्म प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ। ‘चाहे विपद् आउँदा होस् या विकासका लागि, सिङ्गो प्रादेशिक व्यवस्था हाम्रो देशको आवश्यकता हो,’ मुख्यमन्त्री थापा मगरले भन्नुभयो।

उहाँले प्रदेश सरकारलाई थप प्रभावकारी, व्यवस्थित र मितव्ययी बनाउने विषयमा निरन्तर अध्ययन तथा सुधारको प्रक्रिया अघि बढाइरहेको बताउनुभएको छ।