काठमाडौं, असोज १२ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई ‘जेन–जीबाट सुरक्षा खतरा’ रहेको भन्दै मौखिक निर्देशनका आधारमा मध्यराति निवासबाट प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले गम्भीर प्रश्न उठाउनुभएको छ।
झाँक्रीले जेन–जी अभियन्ताहरूले नै पूर्वप्रधानन्यायाधीश जबराप्रति आफूहरूको कुनै प्रश्न, गुनासो वा सरोकार नरहेको बताइरहेको अवस्थामा उनलाई सुरक्षा खतराको कारण देखाउँदै नियन्त्रणमा लिनुको आधार सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभएको हो। उहाँले सामाजिक सञ्जालमार्फत सरकारसँग प्रश्न गर्दै ‘जेन–जीबाट खतरा थियो भने त्यो खतरा के थियो ? त्यसको आधार के हो ?’ भन्दै सोध्नुभएको छ।
झाँक्रीले सुरक्षा खतरा रहेको भए सरकारको दायित्व पूर्वप्रधानन्यायाधीशलाई घरमै सुरक्षा प्रदान गर्नु नभएर किन मध्यराति प्रहरी कार्यालयमा लगियो भन्ने प्रश्नसमेत उठाउनुभएको छ। ‘सुरक्षा खतरा थियो भने सरकारको दायित्व पूर्वप्रधानन्यायाधीशलाई घरमै सुरक्षा दिनु होइन र ? घरमा सुरक्षा दिने अवस्था होइन भने उहाँलाई मध्यराति प्रहरी कार्यालय लगेर १२ घण्टामा किन घर पठाइयो ? के सुरक्षा प्रश्न हल भयो ? कसरी हल भयो ? नै किन लगियो ?’ उहाँले प्रश्न गर्नुभएको छ।
न्यायपालिकाको सर्वोच्च पद सम्हालिसकेको व्यक्तिमाथि असामान्य ढंगले कदम चाल्दा कानुनी प्रक्रियाको पालना गरिएको थियो कि थिएन भन्ने विषयमा पनि झाँक्रीले सरकारसँग जवाफ माग्नुभएको छ। उहाँले पक्राउ गर्दा अदालतबाट आदेश लिइएको थियो कि थिएन, आवश्यक पक्राउ पुर्जी जारी गरिएको भए न्यायिक नेतृत्वलाई त्यसबारे जानकारी गराइएको थियो कि थिएन भन्ने प्रश्नसमेत उठाउनुभएको छ।
झाँक्रीले घटनालाई सरकारको कमजोरी वा असफलताबाट जनताको ध्यान अन्यत्र मोड्ने प्रयासका रूपमा प्रयोग गरिएको हो कि भन्ने आशंकासमेत व्यक्त गर्नुभएको छ। उहाँले सरकार, विशेषगरी गृहमन्त्रीको सचिवालयसँग जोडिएको भनिएको सरुवा–सेटिङसम्बन्धी अडियो सार्वजनिक भएको प्रसंग उल्लेख गर्दै त्यसबाट जनताको ध्यान अन्यत्र मोड्न जबरालाई केन्द्रमा ल्याइएको हो कि होइन भन्ने प्रश्न गर्नुभएको छ। ‘सरकार आफ्नै अयोग्यता, असफलता वा जनताका वास्तविक प्रश्नबाट ध्यान मोड्न एउटा व्यक्तिलाई केन्द्रमा ल्याएर सबैको ध्यान “डाइभर्सन” गर्न खोजिरहेको त होइन ?’ झाँक्रीले प्रश्न गर्नुभएको छ।
यदि सुरक्षा खतरा वास्तविक थियो भने सरकारले त्यसको तथ्य, कानुनी आधार र स्पष्ट कारण सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ। ‘किनकि सवाल सुरक्षा हो भने सरकारले सुरक्षा दिनुपर्ने हो। मुद्दा होइन भने मध्यरातिको गिरफ्तारी किन ?’ झाँक्रीले भन्नुभएको छ।
जेन–जीका माग सम्बोधन, ग्यासको अभाव तथा हराइरहेका व्यक्तिको खोजीजस्ता जनताका तत्कालीन प्रश्नमा सरकार केन्द्रित हुनुपर्ने उल्लेख गर्दै झाँक्रीले सरकारको व्यवहार र सडकमा देखिएको प्रहरी परिचालनबीचको सम्बन्धबारे समेत प्रश्न उठाउनुभएको छ। उहाँले सरकारको पछिल्लो कदमप्रति व्यंग्यात्मक प्रश्न गर्दै नेपाली उखान ‘छोरी कुटेर बुहारी तर्साउने’ भनेजस्तो अवस्था त होइन भन्ने आशंका व्यक्त गर्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्