काठमाडौँ, असोज १२ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिना कारण विशिष्ट व्यक्ति (भीआईपी) पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।
सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत राखेको भए त्यो सरकारकै लागि घातक हुने बताउनुभयो ।
‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ,’ उहाँले भन्नुभयो । यस्ता घटना नदोहोर्याउन उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
सुरक्षा थ्रेट देखाएर पक्राउ गरिएको भन्ने विषय बहानाबाजी भएको प्रचण्डको दाबी थियो । साँच्चै सुरक्षा थ्रेट भए पक्राउ गर्नुको सट्टा सम्बन्धित व्यक्तिको सुरक्षामा सुरक्षाकर्मी थप गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने,’ उहाँले भन्नुभयो, ‘सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिनुपर्यो नि ।’
प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले समसामयिक विषयमा बोल्नुपर्ने कुरा नै बोलेको प्रतिक्रिया पनि दिनुभयो ।
प्रधानमन्त्रीले महासभामा गरेको सम्बोधनलाई लिएर अनावश्यक बढाइचढाइ गर्न आवश्यक नरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री बालेनको ठाउँमा अरू कोही भएको भए पनि त्यही विषयमा बोल्ने उहाँले बताउनुभयो ।












प्रतिक्रिया दिनुहोस्