जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार १६:३४

सरकारसँग सत्तारुढ दलकै सांसद दिक्क : ‘पक्राउ गर्दा पनि सुर र ताल मिल्नुपर्छ, आरोप मात्र पर्याप्त हुँदैन’  


काठमाडौं, असोज १२ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गर्दा कानुनी प्रक्रिया र प्रमाणको आधार स्पष्ट हुनुपर्ने भन्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले सरकारको कदमप्रति असन्तुष्टि जनाउनुभएको छ।

प्रहरीले जबरालाई हिजो राति निवासबाट पक्राउ गरी दिउँसो ‘सुरक्षाका लागि’ भन्दै पुनः घरमै पुर्‍याएर छाडेको घटनाको चौतर्फी आलोचना भइरहेका बेला सांसद दर्शनाले कानुनको शासनमा अधिकार प्रयोग गर्दा विधि र प्रमाणको पालना अनिवार्य हुने धारणा राख्नुभएको हो।

दर्शनाले कसुर देखिएमा कानुनअनुसार पक्राउ गर्न सकिने भए पनि त्यसका लागि आरोप मात्रै पर्याप्त नहुने बताउनुभएको छ। ‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ। तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ। कसुर अदृश्य भए पनि कानुनले प्रमाण माग्छ। आरोप मात्र पर्याप्त हुँदैन; कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ,’ उहाँले भन्नुभएको छ।

कानुनको शासनमा राज्यले पाएको अधिकार प्रयोग गर्दा पनि निश्चित विधि र प्रमाणको आधार आवश्यक हुने उहाँको भनाइ छ। ‘कानुनको शासन भनेकै यही हो। अधिकार प्रयोग गर्न पाइन्छ, तर विधि र प्रमाणबिना होइन,’ सांसद दर्शनाले स्पष्ट पार्नुभएको छ।

जबराको पक्राउलाई लिएर सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा प्रश्न उठिरहेका बेला उहाँले पूर्वप्रधानन्यायाधीशको सुरक्षाको विषयलाई समेत गम्भीर रूपमा लिनुपर्ने बताउनुभएको छ। उहाँले जबरालाई केही समयका लागि सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यले पक्राउ गरिएको भए पनि त्यसको प्रक्रिया स्पष्ट र कानुनसम्मत हुनुपर्ने संकेत गर्नुभएको छ। ‘सन्दर्भ- पूर्व प्रधानन्यायधिसको सुरक्षित स्थानमा केहि समयको स्थान्तरण गर्न गरिएको पक्राउ। उनको सुरक्षाका लागि सतर्कता बढाइयोस्। X-Y-Z कुनै जेनेरेशनले थ्रेत दिन नसकुन्,’ उहाँले भन्नुभएको छ।

पूर्वप्रधानन्यायाधीश जबरालाई राति निवासबाट पक्राउ गरेर केही घण्टापछि देखाउँदै घरमै फर्काइएको घटनाले राज्यको पक्राउ प्रक्रिया, सुरक्षा व्यवस्थापन र कानुनी आधारबारे प्रश्न उठाएको छ। यस विषयमा सरकारले पक्राउको कारण, कानुनी आधार तथा अपनाइएको प्रक्रियाबारे स्पष्ट पार्नुपर्ने आवाजसमेत उठिरहेको छ। आज प्रतिनिधि सभा बैठकमा समेत साे विषयले स्थान पाएकाे थियाे ।