जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार १७:०४

सरकारलाई नेकपाकाे प्रश्न : के खाएपछि मध्यरातमा जोस र मध्यान्हमा होस आउँछ ? 


काठमाडौं, असोज १२ । प्रतिनिधि सभामा नेकपाका प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यराति नियन्त्रणमा लिएर केही घण्टामा छाडिएको घटनाप्रति प्रश्न उठाउनुभएको छ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै दुलालले बिना पक्राउ पुर्जी र स्पष्ट कारणबिना पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति नियन्त्रणमा लिइएको भन्दै सरकारले कानुनी राजको उपहास गरेकाे बताउनुभयाे । उहाँले सरकारले जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै नियन्त्रणमा लिएको भए पनि केही घण्टामै पुनः घर पठाइएको विषयमा प्रश्न उठाउनुभयो। ‘मध्यराति पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले पक्राउ गर्‍यो। बिना पक्राउ पुर्जी, बिना कारण, एउटा गैरकानुनी राज्यको दृष्टान्त फेरि एकपल्ट सरकारले देखायो र मध्यरातमा अर्को नयाँ स्टन्ट सरकारले देखायो,’ दुलालले भन्नुभयो।

जबरालाई सुरक्षा खतरा रहेको सरकारी भनाइप्रति प्रश्न गर्दै उहाँले सुरक्षा खतरा भएको व्यक्तिलाई पक्राउ गर्ने कि सुरक्षा दिने भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभयो। ‘पूर्वप्रधानन्यायाधीशलाई सुरक्षा थ्रेट भनियो। गिरफ्तार सुरक्षा थ्रेट दिनेलाई गरिन्छ कि सुरक्षा थ्रेट हुनेलाई गरिन्छ ? यसको जवाफ पनि सरकारले दिनुपर्छ,’ उहाँले भन्नुभयो।

दुलालले १२ घण्टा नबित्दै जबरालाई घर पठाइएको विषयमा पनि प्रश्न उठाउनुभयो। सुरक्षा खतरा वास्तविक थियो भने केही घण्टामै त्यो खतरा कसरी समाप्त भयो भन्ने उहाँको प्रश्न छ। ‘१२ घण्टा अपराध अनुसन्धानको हिरासतमा राखेपछि अन्त्य हुने सुरक्षा थ्रेट के हो ? को हो त्यो सुरक्षा थ्रेट ? कतै सरकारी सुरक्षा थ्रेट त होइन ?’ उहाँले प्रश्न गर्नुभयो।

सरकारले कानुनको शासन र स्थापित प्रक्रियालाई बेवास्ता गर्दै अघि बढेको आरोप लगाउँदै दुलालले मुलुक अराजकतातर्फ जान थालेको बताउनुभयो। उहाँले सरकार दादागिरीको शैलीमा चलेको आरोप लगाउँदै यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो। ‘यो दादागिरीको अन्त्य गर्नुपर्छ, के गरेपछि यस्तो बौलट्ठीपूर्ण पागलपन आउँछ ?’ उहाँले प्रश्न गर्नुभयो।

दुलालले सरकार गठन भएदेखि नै कानुनविपरीतका गतिविधि हुँदै आएको आरोपसमेत लगाउनुभयो। यसअघि पूर्वप्रधानमन्त्रीलाई मध्यरातमा घरमै घेराउ गरी पक्राउ गरिएको र पछि अदालतले छाडेको प्रसंग उल्लेख गर्दै उहाँले जबराको पक्राउसँग त्यस घटनाको तुलना गर्नुभयो। ‘सरकार जन्मेकै दिन पनि मध्यरातमा पूर्वप्रधानमन्त्रीलाई रातभरि घरमा घेराउ गरेर गिरफ्तार गरियो र केही समयपछि अदालतले छोड्यो। आज पूर्वप्रधानन्यायाधीशलाई पनि त्यसैगरी मध्यरातमै गिरफ्तार गरियो र १२ घण्टा नबित्दै बिना कारण उहाँलाई छोडियो,’ दुलालले भन्नुभयो।

सरकारको कार्यशैलीमाथि व्यंग्य गर्दै उहाँले प्रश्न गर्नुभयो, ‘के खाएपछि मध्यरातमा जोस आउँछ र मध्यान्हमा होस आउँछ ?’