जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार १९:४४

सरकार गुण्डागर्दी शैलीमा उत्रियाे : ऐन महर


काठमाडौं, असोज १२। नेकपा एमालेका सचेतक ऐन महरले वर्तमान सरकार निरंकुशता र स्वेच्छाचारितातर्फ उन्मुख भएको बताउनुभएका छ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले गुण्डागर्दी र अपहरण शैलीमा पक्राउ गरेको दाबी गर्नुभयो। राज्यले नागरिकको सुरक्षा र संरक्षण गर्नुपर्नेमा उल्टै व्यक्तिको हुर्मत लिने काम गरेको उहाँको भनाइ छ। ‘सरकारले राज्य आतङ्कको बरबर नमुना प्रस्तुत गर्याे,’ उहाँले भन्नुभयो।

सरकारले कानुनी शासन र लाेकतन्त्रकाे हुर्मत लिने काम गरेको उहाँले बताउनुभयो । ‘सरकारले मानिसहरूलाई तर्साउने, धम्क्याउने, पक्राउ गर्ने र हुर्मत लिने काम गरिरहेको छ’, उहाँले भन्नुभयो । 

सरकारले आफूलाई नेतृत्वमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको जेनजी पुस्ताकै बदनाम हुने गरी गतिविधि गरिरहेको पनि महरले बताउनुभयाे। उहाँले जेनजीबाट पूर्वप्रधानन्याधीशलाई सुरक्षा थ्रेट आएको भनिए पनि त्यस्तो धम्की दिने व्यक्ति वा समूह को हो भन्ने सरकारले सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो। ‘आज ती जेनजीहरूलाई बदनाम गर्ने, सुरक्षा थ्रेट दिने को हुन् ? त्यो भन्नुपर्‍यो र त्यस्ता व्यक्तिहरूलाई कारबाही गर्नुपर्‍यो,’ उहाँले भन्नुभयो।

सरकारले पूर्वप्रधानन्यायाधीश जबरालाई जेनजीबाट सुरक्षा थ्रेट आएको भन्दै सुरक्षाका लागि नियन्त्रणमा लिइएको प्रतिक्रिया दिएको विषयप्रति उहाँले प्रश्न उठाउनुभयो। उक्त दाबीप्रति जेनजी पक्षबाट समेत आलोचना भइरहेको र धम्की दिने व्यक्ति वा समूहको पहिचान सार्वजनिक गर्न माग भइरहेको उहाँले उल्लेख गर्नुभयो।

लोकतान्त्रिक व्यवस्थामा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने स्पष्ट पार्दै महरले कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अभियोग लगाएर कानुनी प्रक्रियामा ल्याउनुपर्ने बताउनुभयो। ‘सरकारले कानुकै हुर्मत लिने काम गर्याे’, महरले भन्नुभयाे । 

सरकारले राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा विरोध गरेकै आधारमा व्यक्तिहरूलाई तर्साउने, धम्काउने तथा पक्राउ गर्ने कार्य गरिरहेको बताउँदै उहाँले यस्तो प्रवृत्ति कानुनी राज्य र विधिको शासनको बर्खिलाप हुने बताउनुभयो। ‘सरकारले पूर्वाग्रह, प्रतिशोध तथा विरोध गरेका आधारमा व्यक्तिहरूलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने काम गरिरहेको छ। यो कार्य कानुनी राज्य र विधिको शासनको बर्खिलाप छ,’ उहाँले भन्नुभयो।