काठमाडौँ, असोज १२ । मनाङको हिम्लुङ क्षेत्रमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुई जनाको शव फेला परेको छ । यससँगै हालसम्म चार जनाको शव फेला परेको छ भने आठ जना अझै बेपत्ता छन् ।
विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापना गर्न गएका २२ जना नेपाली नागरिकमध्ये १० जना असोज ११ गते सकुशल फर्किएका थिए । बाँकी १२ जना हिमपहिरोपछि सम्पर्कविहीन भएका थिए ।
हालसम्म फेला परेका शवमध्ये दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा संखुवासभाको भोटखोला गाउँपालिका–३ का ५२ वर्षीय छेवी भोटे र भोटखोला गाउँपालिका–२ का ३१ वर्षीय पासाङ भोटे रहेका छन् ।
कैलाश हेलिकप्टरमार्फत सोमबार हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव प्रदेश अस्पताल चामे, मनाङमा ल्याइएको छ । ती दुवै शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फको दूरीमा रहेको छ । बाँकी बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्