जनता टाइम्स

१२ आश्विन २०८३, सोमबार २०:५०

कांग्रेसको महाधिवेशन केही दिन सार्ने तयारी


काठमाडौं, असोज १२ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति केही दिन पर सार्ने तयारी गरेको छ ।

मौसमका कारण क्षेत्रीय अधिवेशन प्रभावित भएपछि महाधिवेशनको मिति केही दिन सार्ने विषयमा कांग्रेसले छलफल अघि बढाएको हो । कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको थियो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले बाढीपहिरो र प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित भएकाले महाधिवेशनको मिति सार्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

उहाँका अनुसार महाधिवेशनको मितिबारे मंगलबार पार्टीको शीर्ष तहमा छलफल हुनेछ । जिल्लाको वस्तुस्थितिको अध्ययन गरेर नयाँ मिति तय गरिने उहाँले बताउनुभयो ।

‘बाढीपहिरोले जनजीवन प्रभावित भएपछि हाम्रो राजनीतिक कार्यक्रमलाई पनि प्रभाव पारेको छ, क्षेत्रीय अधिवेशन सकिएका छैनन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले जिल्लाजिल्लाको वस्तुस्थिति अध्ययन गरेर निर्णय गर्छौँ । सम्भवतः भोलि नयाँ सूचना आउँछ ।’

महाधिवेशनको नयाँ मिति तय गर्दा पार्टीको विधान र अदालतको आदेशलाई समेत ध्यान दिइने प्रवक्ता चालिसेले बताउनुभयो । महाधिवेशन बढीमा एक साताभन्दा पर नधकेल्ने गरी छलफल भइरहेको कांग्रेसले जनाएको छ ।

यसैबीच पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने मंसिरमा समानान्तर महाधिवेशन गर्ने तयारी अघि बढाएको छ ।