जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार ०७:३१

ट्रम्प–सी भेटपछि अमेरिका र चीनले ३० अर्ब डलरका वस्तुमा भन्सार घटाउने सूची सार्वजनिक गरे


काठमाडौं, असोज १३ । अमेरिका र चीनले करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तुमा भन्सार घटाउने सूची सार्वजनिक गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वासिङ्टनमा भेटवार्ता भएको केही दिनपछि दुवै देशले भन्सार कटौतीका लागि पारस्परिक सूची सार्वजनिक गरेका हुन् । प्रत्येक देशबाट करिब ३० अर्ब डलर बराबरका वस्तु सूचीमा समेटिएका छन् ।

चीनले अमेरिकाबाट आयात गर्ने कृषि उत्पादन, व्यक्तिगत हेरचाहका सामग्री, काठ, कोइला तथा चिकित्सा उपकरणलगायत १ हजार ६१९ प्रकारका वस्तुमा भन्सार घटाउने भएको छ ।

त्यस्तै, अमेरिकाले चीनबाट आयात गर्ने ७७ वर्गका वस्तुमा भन्सार कटौती गर्ने भएको छ । तीमध्ये आतिशबाजी, भान्साका सामग्री, खेलौना, सिसा तथा काठका सजावटी सामग्री र फुटबललगायत वस्तु छन् ।

चीनको वाणिज्य मन्त्रालयले नयाँ व्यवस्थाले दुई देशबीच व्यापारिक सहकार्य थप मजबुत हुने जनाएको छ । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले पनि सूचीमा गैर–संवेदनशील वस्तु समेटिएको र यसबाट अमेरिकी किसान, उत्पादक तथा व्यवसायीलाई चिनियाँ बजारमा थप पहुँच पुग्न सक्ने बताउनुभएको छ ।

तर चिप, विद्युतीय सवारीसाधन र ब्याटरीजस्ता रणनीतिक महत्वका क्षेत्र भने भन्सार कटौतीको सूचीमा समेटिएका छैनन् । विश्लेषकहरूले भन्सार कटौतीले दुई देशबीचको व्यापार बढाउन सहयोग गर्न सक्ने भए पनि समग्र आर्थिक प्रभाव तत्काल सीमित हुन सक्ने बताएका छन् ।