जनता टाइम्स

१३ आश्विन २०८३, मंगलवार ०७:३५

कोरला सडकका ४६ स्थानमा पहिरो, पूर्ण सञ्चालनमा आउन एक साताभन्दा बढी लाग्ने


मुस्ताङ, असोज १३। भारी वर्षासँगै आएको बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम–कोरला सडकखण्डका ४६ स्थानमा क्षति पुगेको छ ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको उक्त सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन एक साताभन्दा बढी समय लाग्ने आयोजना प्रमुख तेजस्वी शर्माले बताउनुभएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा प्रस्तुत विवरणअनुसार पर्वतको मालढुङ्गा क्षेत्रमा पाँच, बेनीदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेसम्म १६ तथा म्याग्दी–मुस्ताङ सीमाको काभ्रेभीरदेखि कोरला नाकासम्म २५ स्थानमा बाढीपहिरो र नदी कटानले क्षति पुर्‍याएको छ ।

मालढुङ्गा–कोरला सडकखण्डका लाटीखोला, फर्से, जुकेखोला, केराबारी र लामाखेतमा सडकमा क्षति पुगेको छ ।

त्यस्तै बेनीदेखि रुप्सेसम्म गलेश्वर, रघुगंगा पुल, बैसरी, बेगखोला, महभिर, भिरकाटे, पोखरेबगर, तातोपानी, नारच्याङ, जलथले, सुकेबगर, खामभित्ता, दाना, लाटोखोला र रुप्से खोलालगायत क्षेत्रमा लेदोसहितको बाढीपहिरो तथा नदी कटानले सडक संरचनामा क्षति पुगेको छ ।

म्याग्दी–मुस्ताङ सीमाको काभ्रेभीरदेखि कोरला नाकासम्मका विभिन्न स्थानमा पनि आंशिकदेखि मध्यम क्षति पुगेको आयोजना प्रमुख शर्माले बताउनुभएको छ ।

मुस्ताङतर्फ खहरे खोला, घाँसा, कैकुखोला, लेतेखोला, मार्फा, पाण्डा खोला, एक्लेभट्टी, कागबेनी, तिरीबारी, ग्रीन ताङ्वे, ताङ्वे खोला–१, ताङ्वे खोला–२ र छुसाङ खोलालगायत क्षेत्रमा सडकमा क्षति पुगेको छ ।

क्षतिग्रस्त सडकखण्डमा पहिरो तथा बाढीले थुपारेको लेदो र ग्रेगान हटाउने तथा सडक संरचना मर्मत गर्ने काम अघि बढाइने जनाइएको छ ।